पर्सा । पर्साको पर्सागढी नगरपालिका–३ बढनियार चोकमा निर्वाचन उम्मेदवार सवार सवारीसाधनबाट बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।
प्रहरीका अनुसार गएराति करिब ११ बजे नियमित जाँचका क्रममा नेकपाबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी सवार गाडीको डिक्कीबाट शंकास्पद वस्तु फेला परेको हो। तत्काल गाडी नियन्त्रणमा लिइएको र क्षेत्रलाई सुरक्षा घेराभित्र राखिएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको थियो। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै गाडीलाई सुरक्षित स्थानमा लगेर सेनाले आफ्नो नियन्त्रणमा राखेको छ।
शंकास्पद वस्तुको प्रकृति र क्षमताबारे प्राविधिक परीक्षणपछि मात्र औपचारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।
गाडीमा उम्मेदवार चौधरीसँगै नेकपाका नेता सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की सवार रहेको बताइएको छ । गाडी चालक वीरगन्जको छपकैया निवासी मुन्ना अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले गाडीमा सवार सबै व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ तथा आवश्यक अनुसन्धान अघि बढाएको छ।