Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चुनावको मुखमा सिमानाकामा तस्करी बढेको आरोप, हेडक्वार्टरमा बस्यो बैठक

चुनावको मुखमा सिमानाकामा तस्करी बढेको आरोप, हेडक्वार्टरमा बस्यो बैठक

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार सम्पन्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकले राजस्व चुहावट र तस्करी नियन्त्रणलाई थप कडाइका साथ अघि बढाउने निष्कर्ष निकालेको छ ।

बैठक अर्थमन्त्री रामेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउन सबै सरोकारवाला निकायबीच सुदृढ समन्वय, सहकार्य र एकीकृत कार्ययोजना आवश्यक रहेको बताए ।

अघिल्लो बैठकका निर्णयहरू कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै उनले प्रणालीगत सुधारका प्रयासहरूलाई अझ परिणाममुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले राजस्व चुहावट नियन्त्रण आर्थिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा, सुशासन र समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गरे ।

उनले नेपाल प्रहरीले संस्थागत क्षमताअनुसार सक्रिय भूमिका निर्वाह गर्दै आएको बताउँदै प्रविधि सुदृढीकरण, दक्ष जनशक्ति व्यवस्थापन, कानूनी आधार मजबुत पार्ने र अन्तरनिकाय समन्वय बढाउन सके दीर्घकालीन तथा प्रभावकारी नतिजा हासिल गर्न सकिने धारणा राखे ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारीले राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा नेपाल प्रहरीको भूमिकाबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीले राजस्व परिचालन र चुहावटसम्बन्धी विविध पक्षमा प्रकाश पारे ।

बैठकमा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा जिल्ला प्रहरी कार्यालय मोरङ, बारा, चितवन, बाँके र कैलालीका प्रमुखहरूसँग भर्चुअल माध्यमबाट छलफल तथा अन्तरक्रिया गरिएको थियो।

सीमा नाकाहरूमा जडान गरिएका सिसिटिभीमार्फत त्यहाँको वस्तुस्थितिबारे समेत प्रत्यक्ष जानकारी लिइएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव, गृह मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक तथा प्रहरीका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो ।

भारतसँग सिमा जोडिएका जिल्लामा चुनावको मुखमा तस्करी बढेको आरोप छ । ती जिल्लाका सिमानाकामा प्रहरीकै संरक्षणमा तस्करी भइरहेको अरोप लागेको छ । यति बेला सिंगो देश चुनावी माहोलमा छ । तर सिमानाकामा व्यापक तस्करी बढेको आरोप छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077