मलंगवा । सशस्त्र प्रहरी बलको १० नम्बर गण सर्लाहीका गणपति (एसपी) देवबहादुर चन्दले जिल्लामा तस्करीको लाइन चलाउन छुट दिएका छन् ।
एक बर्षे अवधि पूरा हुन लागेकाले उनले जाँदाजाँदै धनार्जनलाई प्रमुख प्राथमिकता दिई सर्लाहीका प्रस्तावित फेनहारा गुल्मदेखि त्यसअन्तर्गका ६ वटा बीओपीबाट तस्करीको लाइन चलाएका छन् ।
माघमा सरुवा हुने भएपछि उनले तस्करहरुबाट लाभ लिएर तस्करीको लाइन चलाएको आरोप छ । सशस्त्र प्रहरी बलले मधेश प्रदेशको तस्करी नियन्त्रणका लागि एसएसपी माधव पौडेललाई अनुगमनमा पठाए पनि सर्लाहीका एसपी चन्दले घुमुवाको टोली नै परिचालन गरी तस्करीको लाइन चलाएका छन् ।
सीमा सुरक्षा गुल्म फेनाहरा सर्लाही अन्तर्गत १० किलोमिटरभित्र बहादुरपुर, छतौना, मधुवनी, बारा उद्दोरण, भाँडसर र खुटौना बीओपी छन् । यीमध्ये ४ वटामा इन्स्पेक्टर इन्चार्ज हुन्छन् भने २ वटामा सई रहेका छन् ।
केही दिनदेखि यी बीओपीमध्ये बहादुरपुरबाट सबैभन्दा बढी तस्करी भइरहेको छ । तस्करहरुले बहादुरपुरलाई सुरक्षित नाकाका रुपमा प्रयोग गर्दैआएका छन् । फेनहारा सीमा सुरक्षा गुल्मका डीएसपी रन्जनकुमार बुढाथोकीले पनि तस्करीको लाइन चलाएर दररेट असुली गर्दैआएको आरोप छ ।
बहादुरपुर बीओपीका इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सुरेश बुढाथोकी छन् । एसपी चन्दलाई समेत सेटिङ गरी उनले तस्करीको लाइन चलाएका छन् ।
यो नाकाबाट राति राति भारततर्फ नेपालको स्याउ, सुपारी, काँक्राको बियाँ र कवाडी तस्करी हुँदैआएको छ । बलराबाट बिजय यादवले भारतीय माछा ब्यापक रुपमा नेपालमा भित्र्याउँदैआएका छन् ।
उनले दैनिक १० पिकअप भारतीय माछा नेपालमा भन्सारछली गरी भित्र्याउने गरेका छन् । बिदेशमा मृत्यु भएका ब्यक्तिको सब नकुहियोस भनेर हालिने फर्मालिन नामक रसायन हालिएका माछा सर्लाहीको बलरा, बहादुरपुरबाट भित्र्याई नारायणगढदेखि काठमाडौंसम्म पठाउने गरिएको छ ।
नेपाल मत्स्य ब्यवसायमा आत्मनिर्भर भइसकेको छ । तर भारतीय फर्मालिन राखिएका माछा अनियन्त्रित रुपमा भित्रदा नेपालका माछापालक किसान मारमा परेका छन् । भारतमा माछापालक किसानलाई पर्याप्त अनुदान दिइएको छ ।
तस्करी भएर आएको भारतीय माछा सस्तोमा पाइने भएपछि नेपाली माछाले प्रतिस्पर्धा नै गर्न सक्दैनन् । नेपाल प्रहरी र सशस्त्रको मिलेमतोमा माछा तस्करी हुँदा नेपालका किसान मारमा परेका छन् ।
बहादुरपुरबाट सबैभन्दा बढी कवाडी तस्करी भई भारततर्फ जाने गरेको छ । नवीन चौधरीले कवाडी भारततर्फ तस्करी गरिरहेका छन् ।
त्यसैगरी, बहादुरपुरबाट राजेश ठाकुर, सरोज यादव, बिजय यादव, श्रवण यादव, नवीन चौधरी, मनोज महतोहरुले नेपालबाट स्याउ, मकै ९पपकर्न० सुपारी, काँक्राको बियाँ भारततर्फ पठाउने गरेका छन् ।
बहादुरपुरबाट हरेक रात नेपालबाट भारततर्फ स्याउ, पपकर्न, सुपारी र काँक्राको बियाँ तस्करी हुने गरेको छ भने भारतबाट किरानादेखि बिभिन्न सामान भित्रने गरेको छ ।
बहादुरपुर बीओपीमा तस्करीको सेटिङ मिलाउने काम घुमुवा सिपाही प्रिन्स शर्मा र बाराको पथलैया शिक्षालयमा दरबन्दी भएका हवल्दार राजीव यादवले गर्दैआएका छन् ।
राजीव यादवले आफूलाई सशस्त्र मुख्यालयबाट डीएसपी सुदीप रेग्मीले खटाएको भन्दै सेटिङ मिलाउन तल्लीन छन् । राजीव यादवको घर नै फेनहरामा भएकाले पनि उनलाई तस्करीको लाइन मिलाउन थप सहज भएको छ ।
राजीव यादवले नै फेनहरा गुल्मदेखि छतौना, बहादुरपुर, मधुवनी बीओपीमा तस्करीको सेटिङ मिलाउने गरेको आरोप छ । दरबन्दी बाराको पथलैया शिक्षालयमा भए पनि राजीव सर्लाहीको फेनहरा गुल्म र बीओपीहरुमै सेटिङ गर्नमै ब्यस्त हुँदैआएका छन् ।
सशस्त्रको मुख्यालयका डीएसपी सुदिप रेग्मीले तस्करीको अनुगमनका लागि खटाएको प्रतिनिधिका रुपमा उनले चिनाउने गरेका छन् । छतौना बीओपीका इन्चर्जा इन्स्पेक्टर महेश न्यौपानेले तस्करीको दस्तुरी उठाउन घुमुवा सिपाही संजय पण्डितलाई खटाएका छन् ।
मधुवनी वीओपीका इन्स्पेक्टर दीपेन्द्र पौडेलले घुमुवा नराखी आफै सोझै ब्यापारीसँग डिल गर्ने गरेका छन् । मधुवनी बीओपीबाट बिजय यादव र नवीन चौधरी दुबैले कवाडी भारततर्फ तस्करी गर्दैआएका छन् ।
काठमाडौंदेखि लगिएको कवाडी नवीन र बिजयले मधुवनी र बहादुरपुरबाट भारत लाने गरेका छन् । इन्सपेक्टर दीपेन्द्र पौडेलले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालामा रुपन्देहीका आकर्षक बीओपीको इन्चार्ज भएर कुस्त लाभ लिएका थिए ।
रुपन्देहीमा लामो समय कार्यरत रहेकाश पौडेलले कवाडी तस्करसँग मात्र दररेट तोकेरै असुली गर्दैआएको आरोप छ । सशस्त्र मुख्यालयका सहायक हवल्दार रोशन मिश्रा सर्लाहीमा आउँदा मधुवनीमै अड्डा जमाएर बस्ने र तस्करीको लाइन चलाउने गरेका छन् ।
एसपी देवबहादुर चन्दले नामुद घुमुवा असई सुरेश महतोलाई उनले घुमुवाका रुपमा तस्करहरुसँग असुलीमा लगाएका छन् । विवादमा परेपछि तानिएका महतोलाई एसपी चन्दले फेरि फर्काएका छन् ।