एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा गरिएको सैन्य कारबाहीका क्रममा अमेरिका द्वारा एउटा ‘अत्यन्तै गोप्य हतियार’ प्रयोग गरिएको खुलासा गरेका छन् ।
ट्रम्पका अनुसार उक्त हतियारका कारण भेनेजुएलामा रहेका रुसी र चिनियाँ रक्षा प्रणालीहरू पूर्ण रूपमा असफल भएका हुन् ।
नर्थ क्यारोलिनास्थित अमेरिकी सैन्य आधार शिविर ‘फोर्ट ब्र्याग’मा आयोजित कार्यक्रममा सैनिकहरूलाई सम्बोधन गर्दै ट्रम्पले उक्त हतियारलाई ‘डिसकम्बोबुलेटर’को नाम दिएका छन् ।
यद्यपि, सुरक्षा संवेदनशीलताको कारण देखाउँदै उनले यसको विस्तृत विवरण सार्वजनिक गर्न अस्वीकार गरेका छन्।
ट्रम्पले सैनिकहरूसामु भने, 'भेनेजुएलाका सैनिकहरूले एक राउन्ड गोली चलाउने मौका समेत पाएनन्। रुसी उपकरणहरूले काम गरेनन्, चिनियाँ उपकरणहरू पनि विफल भए। सबैजना यो किन र कसरी भयो भनेर बुझ्ने कोसिस गरिरहेका छन्। कुनै दिन तपाईंहरूले यसको बारेमा थाहा पाउनुहुनेछ।'
उनका अनुसार उक्त कारबाही गएको जनवरी ३ मा भएको थियो, जसमा अमेरिकाले प्रयोग गरेको गोप्य प्रविधिले प्रतिद्वन्द्वी राष्ट्रहरूको रक्षा संयन्त्रलाई नै निष्क्रिय बनाएको दाबी गरिएको छ ।