काठमाडौं । नेपाल टेलिकममा अन्तर्राष्ट्रिय रुपमा आउने एटुपी(एप्लिकेसन टु पर्सन) एसएमएस सन्देशको मासिक परिणाम विगतमा ८० लाख (८ मिलियन) सम्म पुगेको भए पनि अहिले घटेर ३० लाख (३ मिलियन) मा झरेको खुलेको छ ।
टेलिकम उच्च स्रोतका अनुसार एटुपी एसएमएसमा प्रति सन्देश ०.०८ अमेरिकी डलर (८ सेन्ट) का दरले हेर्दा मासिक रुपमा टेलिकमको आम्दानी विगतमा झण्डै ९ करोड हुने गर्दथ्यो ।
अहिलेको डाटा हेर्ने हो भने यो एसएमएस घटेर मासिक ३ करोड ५० लाखको हाराहारीमा झरेको छ । जसले गर्दा एटुपी एसएमएसकै कारण टेलिकमलाई वार्षिक ६५ करोड भन्दा बढी घाटा पुगेको देखिन्छ ।
दूरसञ्चार क्षेत्रका जानकारहरुका अनुसार विगत १० वर्ष भन्दा बढी समयदेखि एउटै अन्तर्राष्ट्रिय एटुपी एसएमएस एग्रीग्रेटर कम्पनी रुट मोवाइलले टेलिकमको अन्तर्राष्ट्रिय एसएमएस कारोबारमा एकाधिकार कायम गर्दै आएको छ ।
यूरोपियन कम्पनी रुट मोवाइलका नेपाली एजेन्ट शक्तिशाली व्यक्ति भएका कारण जुन सरकार आए पनि रुट मोवाइल बाहेक अन्यले टेलिकममा प्रवेश गर्नै सकेका छैनन् ।
एसएमएस सन्देशको परिणाम र प्रति सन्देश दर (रेट) दुबैमा उक्त कम्पनीको नियन्त्रण रहँदा नेपाल टेलिकमको राजश्व क्रमशः घट्दै जाँदा समेत बैकल्पिक कम्पनीहरुलाई प्रवेश गर्नै दिइएको छैन ।
जबकी केही कम्पनीहरुले टेलिकममा मासिक १० मिलियन एसएमएसको अफर गर्दा पनि टेलिकमका प्रवन्ध निर्देशक (एमडी)हरुले चासो दिने गरेका छैनन् । यसको एक मात्र कारण रुट मोवाइलको आर्थिक चलखेल नै हो ।
टेलिकममा पटक–पटक एमडी परिवर्तन हुँदा पनि रुट मोवाइलको प्रभाव कायमै रहेको छ । टेलिकमको आर्थिक विनियम तथा निर्देशिका अनुसार अन्तर्राष्ट्रिय एटुपी एसएमएस क्यारियर कम्पनीहरु थप गरी सन्देश परिमाण र आम्दानी बृद्धि गर्न सार्वजनिक टेण्डर प्रक्रिया अनिवार्य छैन । यस्तो कम्पनीलाई जडान(कनेक्टीभिटी) दिने अधिकार टेलिकमका प्रवन्ध निर्देशकको कार्यक्षेत्र भित्र नै पर्ने जानकारहरु बताउँछन् ।
तर, रुट मोवाइलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग मिलेमतो गरी टेलिकमलाई टेण्डरमा जानुपर्ने दबाब सृजना गराएको नाटक गरेपनि अहिलेसम्म टेण्डर आह्वान हुन नसक्नुलाई मिलेमतोको रुपमा लिइएको छ ।
तीन वर्ष अघि जारी अख्तियारको निर्देशन आजसम्म पूर्णरुपमा पालना नभएका कारण अख्तियारको भूमिका नै शंकास्पद देखिएको छ । यसैमा रुट मोवाइल र अख्तियारका अधिकारीहरुको मिलेमतो रहेको आशंका गरिंदै आएको छ ।
अन्य कम्पनीहरुलाई टेलिकमको आम्दानी बढाउने यो व्यवसायमा प्रवेश गर्न रोक्नु नै राष्ट्रघाती काम भएको टेलिकमकै अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार तत्कालिन प्रवन्ध निर्देशकहरु डिल्लीराम अधिकारी, सुनिल पौडेल, संगिता पहाडी र भर्खरै अवकाशप्राप्त निमित्त प्रवन्ध निर्देशक सविना मास्केको कार्यकालमा रुट मोवाइलसँग राम्रो सेटिङ रहेका कारण नयाँ एटुपी कम्पनीहरुलाई प्रवेश नै गर्न दिइएन ।
तत्कालिन एमडी अधिकारी हाल टेलिकममा डिएमडी छन् । उनको अहिले पनि राउट मोवाइसँग सेटिङ रहेको छ । अधिकारी त्यस्ता व्यक्ति हुन्, जसले घुसबापतको रकम श्रीमतीको नाममा डलरमा लिएको समेत फेलापरेको थियो । अधिकारीकी पत्नी इन्दु ढकालको नाममा जापानको ओसन टेक्नोलोजी लिमिटेडले घुसबापत हरेक महिना २ हजार ९२४ डलर पठाएको भौचर फेला परेपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा तानिएका थिए । तर, अख्तियारमा सेटिङ गरी कारबाहीबाट उनी जोगिदै आएका छन् ।
हाल टेलिकमको चिफ कमर्सियल अफिस (सीसीओ) अन्तर्गत धेरै अन्तर्राष्ट्रिय एटुपी कम्पनीहरुले प्रस्ताव पेश गरेर बसेका छन् । तर, रुट मोवाइलको प्रभाव, अख्तियार र टेलिकमको व्यवस्थापन तहसँगको आर्थिक सेटिङका कारण ती प्रस्तावहरु अझै निर्णयविहिन अबस्थामा थन्किएका छन् ।
दूरसञ्चार क्षेत्रका विज्ञहरुका अनुसार एटुपी एसएमएसमा बहुकम्पनी मोडल(मल्टिपल एग्रिगेटर्स) अपनाउनु अन्तर्राष्ट्रिय अभ्यास हो । टेलिकमले पनि तत्कालिन यस्तो अवस्था लागू नगरेसम्म राजश्व क्षती थप गहिरिंदै जाने चेतावनी दिइएको छ ।
टेलिकमको वित्तिय हित, सार्वजनिक सम्पत्तिको संरक्षण र निष्पक्ष प्रतिस्पर्धाका लागि पारदर्शी निर्णय, स्वतन्त्र समिक्षा र दृृढ नेतृत्व आवश्यक रहेको छ । केही दिन अघि मात्र सरकारले टेलिकमको निमित्त प्रवन्धन निर्देशकमा रीना ढंगोललाई नियुक्त गरेको छ ।
डंगोलले टेलिकमलाई एटुपी एसएमएसमार्फत आम्दानी बढाउनका लागि बढी एसएमएस प्रस्ताव पेश गर्ने कम्पनीहरुलाई प्रवेश गर्न दिने कि अख्तियार कै हाउगुजीमा आतंक सृजना गरिरहेको रुट मोवाइलसँग आर्थिक साँठगाँठ गरी त्यसैलाई निरन्तरता दिने हो ? टेलिकम भित्रबाटै प्रश्न उठ्न थालेको छ ।
स्रोतका अनुसार रुट मोवाइलका नेपाली एजेन्टले मासिक रुपमा मात्रै एक करोड भन्दा बढी रकम शक्ति केन्द्रहरुमा खर्च गरेर एकाधिकारलाई निरन्तरता दिंदै आएका छन् । अब यो एकाधिकार तोड्न डंगोलले सकिनन् भने उनी पनि पूर्वएमडीहरुकै हैसियतमा पुग्ने निश्चित छ ।