काठमाडौं । नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने भएको छ ।
हालै वासिङ्टनमा बसेको विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले ‘नेपाल डिजिटल ट्रान्सफर्मेसन प्रोजेक्ट’ अन्तर्गत उक्त सहयोग नेपाललाई दिने निर्णय गरेको हो ।
उक्त निर्णयसँगै विश्व बैंकले नेपालको डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्न र सार्वजनिक सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउन उक्त सहयोग परिचालन गरिनेछ ।
यो परियोजनाले नागरिकलाई प्रदान गरिने सेवाको ढाँचामा मौलिक परिवर्तन ल्याउने लक्ष्य लिएको छ । परियोजनाअन्तर्गत एकीकृत अनलाइन नागरिक सेवा पोर्टल, सुरक्षित डेटा आदान–प्रदान प्रणाली, तथा प्रमाणीकरण योग्य प्रमाणपत्र र डिजिटल वालेट व्यवस्थापन गर्न सकिने डिजिटल लकर जस्ता डिजिटल प्लेटफर्ममा लगानी गरिनेछ ।
माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिसलेनका अनुसार यस पहलले सार्वजनिक सेवा प्रवाहलाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
विश्व बैंकका अनुसार यो कार्यक्रम विश्व बैंक र एसियाली विकास बैंकबीचको सहवित्तीय संयन्त्रअन्तर्गत सञ्चालन हुनेछ । विश्व बैंक मुख्य ऋणदाता रहनेछ भने एसियाली विकास बैंकले थप ४ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने योजना छ । एडीबीबाट उक्त रकम आगामी महिनामा स्वीकृत हुने अपेक्षा गरिएको छ ।
परियोजनाको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत गरिने जनाइएको छ ।