Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६१ जिल्लामा छानिए निर्वाचन प्रहरी, कति पाउँछन् तलव ?

६१ जिल्लामा छानिए निर्वाचन प्रहरी, कति पाउँछन् तलव ?

बुधवार , माघ १४, २०८२

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् ।
यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका छन् । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको प्रहरी मुख्यालयले जनाएको छ ।

निर्वाचन प्रहरी चाहिए भन्दा थोरै दरखास्त परेका १६ जिल्लामा नतिजा प्रकाशनको तयारी भइरहेको छ । अपुग भएका जिल्लामा पुनः दरखास्त आह्वान गरिएको र ती जिल्लामा बुधवार लिखित र मौखिक परीक्षाको नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

निर्वाचन प्रहरीलाई माघ १५ बाट तालिम गराइने छ । १० दिने तालिम दिएर उनीहरूलाई माघ २५ देखी फिल्डमा परिचालन गरिने छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल मातहत परिचालन हुने गरी छानिन लागेका निर्वाचन प्रहरीलाई १५ माघमा नियुक्तिपत्र दिएर १० दिनसम्म आधारभूत तालिम र त्यसको १० दिनपछि २५ माघदेखि तोकिएको कार्यक्षेत्रमा खटाउन लागिएको हो ।

यता, सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको पनि छनोट चलिरहेको छ । जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सशस्त्र प्रहरीले भर्ना गर्न लागेको निर्वाचन प्रहरीको छनोट गरिरहेको छ ।

सशस्त्र प्रहरीले पहिलोपटक १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गर्दैछ । प्रारम्भिक छनोट सकिएपछि उनीहरूलाई सशस्त्र प्रहरीले नै तालिम गराउने बताइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ १ सय १० र प्रत्यक्षतर्फ १ सय ६५ सदस्य गरी २ सय ७५ सिटमा एकै दिन चुनाव हुँदै छ । त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट १ लाख ८८ हजार जनशक्ति चुनावी सुरक्षामा खटिँदै छन् ।

यसबाहेक नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार १ सय १० गरी १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी चुनावी सुरक्षामा तैनाथ गर्न लागिएको छ । त्यसका लागि अर्थ मन्त्रालयले प्रहरीलाई ७ अर्ब १३ करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चित गरेको छ ।

कति पाउँछन् तलब ?
निर्वाचन प्रहरीको कार्यअवधि नियुक्ति पाएको मितिले ४० दिन वा नेपाल सरकारले तोकेबमोजिम हुनेछ । निर्वाचनको अवधिका आधारमा निर्वाचन प्रहरीको कार्यअवधि हेरफेर भएमा सोहीअनुसार हुने छ ।

निर्वाचन प्रहरीले नेपाल प्रहरी जवानको सुरु तलब स्केलसरह प्रतिदिन आठ सय ६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनसम्मका लागि ३४ हजार ७७६ पाउनेछन् ।

निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेटअनुसार प्रतिनिर्वाचन प्रहरी ४० दिनको लागि खाद्यान्नबापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइने प्रहरी प्रधान कार्यालयले जनाइसकेको छ ।

निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारीस्वरुप प्रतिनिर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट आठ सय ४६ का दरले तयारी खर्च उपलब्ध गराउने छ ।

प्रतिदिन प्रतिनिर्वाचन प्रहरी तीन सयको दरले चार दिनका लागि एकमुष्ट एक हजार २०० खाजा खर्च उपलब्ध हुनेछ । नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिएबमोजिमको दररेटका आधारमा पोसाकबापतको रकमसमेत निर्वाचन प्रहरीले पाउनेछन् ।

कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाइते भएमा निज स्वयमले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिएबमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077