काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने पाँच उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिताको उल्लंघन भएको भन्ने उजुरीका आधारमा आयोगले पाँच प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा एक संस्थासँग स्पष्टीकरण माग गरेको हो ।
आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र साह, सुनसरी क्षेत्र नं. १ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार कमल भुसाल (निकोलस) र भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतलाई आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा स्पष्टीकरण पेश गर्न भनिएको छ।
बालेन्द्र साहसँग सामाजिक सञ्जालमा अर्का उम्मेदवार केपी शर्मा ओलीले राखेको सामग्रीमा प्रतिक्रिया जनाएको विषयमा जवाफ मागिएको छ। हर्क साम्पाङसँग भने चुनावी अभियानका क्रममा बालबालिकाको प्रयोग तथा उनीहरूलाई प्रचार सामग्रीसहितका टिसर्ट लगाइएको विषयमा स्पष्टीकरण सोधिएको छ।
यसैगरी महेश बस्नेतसँग अन्य उम्मेदवार बालेन्द्र साहप्रति अपमानजनक अभिव्यक्ति दिएको आरोप सम्बन्धी विषयमा स्पष्टीकरण माग गरिएको छ। भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक)लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।
त्यस्तै, कमल भुसालको हकमा जेनजी आन्दोलन’सँग सम्बन्धित जुत्तालाई चुनावी चिन्हका रूपमा प्रचार गरेको विषय आयोगको ध्यानाकर्षणमा परेको जनाइएको छ।
त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।