रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शासन प्रक्रियामा बाह्य शक्तिहरूको सक्रियता देखिएको दाबी गर्दै देशभक्तिपूर्ण आन्दोलन आवश्यक पर्न सक्ने बताएका छन् ।
रुकुम पूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समसामयिक राजनीति र आगामी कार्यदिशाबारे आफ्ना धारणा सार्वजनिक गरेका हुन्।
दाहालले मुलुकमा देखिएका चुनौती र प्रतिक्रियावादी चलखेलको प्रतिवाद गर्न नयाँ शक्ति निर्माणको आवश्यकता रहेको बताए।
उनले भने- 'जरुरी पर्यो भने राष्ट्र र जनताको निम्ति नयाँ आन्दोलन अगाडि ल्याउनुपर्ने हुनसक्छ। नयाँ समाजवादी, राष्ट्रवादी र देशभक्तिपूर्ण आन्दोलन चलाउनुपर्ने अवस्था आउन सक्छ ।'
प्रचण्डले भदौ २४ गते देखिएका जस्ता विध्वंसात्मक घटनाहरू अझै पूर्ण रूपमा रोकिएको नभन्दै त्यसमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिको चलखेल रहेको आरोप लगाए । यस्तो परिस्थितिमा ती गतिविधिको सामना गर्न संगठित र वैचारिक रूपमा स्पष्ट नयाँ शक्ति निर्माण अपरिहार्य भएको उनको भनाइ थियो ।
साथै उनले दाङ-रोल्पा हुँदै रुकुमपूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने वैकल्पिक व्यापारिक मार्ग निर्माण गर्ने योजना अघि सारेका छन्। रुकुमपूर्व हिमाली जिल्ला बनेको सन्दर्भ उल्लेख गर्दै जिल्लालाई विकासको नयाँ मोडेलमार्फत रूपान्तरण गरिने आश्वासन पनि दिए।