धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले आर्थिक वर्षको पुस महिनामा अपराध नियन्त्रण, अनुसन्धान, लागूऔषध नियन्त्रण र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार एक महिनाको अवधिमा कुल २७० वटा अपराधका घटना दर्ता भएका छन् ।
प्रदेश प्रहरीका अनुसार पुस महिनामा ज्यान सम्बन्धी ३६, आत्महत्या सम्बन्धी २८, चोरी सम्बन्धी ११, संगठित तथा आर्थिक अपराध ६७, सामाजिक अपराध ३३, महिला तथा बालबालिका सम्बन्धी अपराध २३, सवारी ज्यान २३ र अन्य ४१ वटा मुद्दा दर्ता भएका छन् ।
गम्भीर अपराधतर्फ कर्तव्य ज्यान १, हातहतियार ०, मानव बेचबिखन १ तथा आर्थिक अपराधतर्फ बैंकिङ कसुर ३६, जुवातास २ र ठगी ६ वटा घटना दर्ता भएका छन् । यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी २३ वटा मुद्दा दर्ता भएका छन् ।
प्रदेशभर चालु मुद्दामध्ये २७० मुद्दा दर्ता भई २०८ वटा मुद्दा फर्छ्यौट भएका छन् भने ३९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका छन् । यसैगरी, सार्वजनिक चासोका २८८ वटा पेन्डिङ मुद्दामध्ये ६७ वटा सफल अनुसन्धान गरी फर्छ्यौट गरिएको छ ।
फैसला कार्यान्वयनतर्फ ३४८ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूलाई कुल २६४ वर्ष १० दिन कैद सजाय र ३ करोड २७ लाख ८५ हजार ७६९ रुपैयाँ राजश्व असुल गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ २३ वटा उजुरी परेका छन् । हराएका तथा फेला परेका नागरिकतर्फ ११८ जना हराएको उजुरी दर्ता भएकोमा ७५ जना फेला परेका छन् भने ४३ जना अझै खोजीमै रहेका छन् ।
घरेलु हिंसातर्फ १०६ वटा उजुरी परेका छन् । तीमध्ये ८८ वटा मेलमिलापबाट टुंग्याइएका छन् भने १३ वटा अदालत पठाइएको र ५ वटा प्रक्रियामा रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
ठाडो उजुरीतर्फ प्रत्यक्ष रूपमा प्रहरी कार्यालयमा ८३ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये ५६ वटा फर्छ्यौट भएका छन् भने २७ वटा अझै फर्छ्यौट हुन बाँकी छन् ।
लागूऔषध नियन्त्रणतर्फ ४८ वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये महिला ४ र पुरुष ६३ जना पक्राउ परेका छन् । प्रहरीले ११ किलो २२३ ग्राम ५७२ मिलिग्राम चरेस, १३७ ग्राम ५०७ मिलिग्राम खैरो हेरोइन तथा २२८ पिस ट्याबलेट र २० पिस नाइट्राजेट बरामद गरेको जनाएको छ ।
आत्महत्यातर्फ कुल २८ वटा घटना दर्ता भएका छन् । तीमध्ये पुरुष १२, महिला १३, बालक १ र बालिका २ जना रहेका छन् । आत्महत्याका प्रमुख माध्यम झुन्डिने २४, विष सेवन ३ र हाम्फाल्ने १ रहेका छन् । मंसिरमा २५६ वटा अपराध दर्ता भएका थिए भने पुसमा २७० वटा दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ ।




