एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनको बढ्दो प्रभाव रोक्न अमेरिकाले ग्रीनल्याण्डमाथि आफ्नो स्वामित्व कायम गर्नैपर्ने धारणा दोहोर्याएका छन् ।
शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले ग्रीनल्याण्डलाई भाडामा लिएर सुरक्षा गर्नु भन्दा पूर्ण स्वामित्व लिएर रक्षा गर्नु नै अमेरिकाको हितमा हुने बताएका हुन् ।
ट्रम्पले ग्रीनल्याण्ड अमेरिकाको नियन्त्रणमा ल्याउन ‘सजिलो’ वा ‘अप्ठ्यारो’ जुनसुकै उपाय अपनाउन सकिने चेतावनीसमेत दिएका छन्। ह्वाइट हाउसले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र रहेको ग्रीनल्याण्ड किन्ने योजना बनाएको भए पनि आवश्यक परे बल प्रयोग गर्ने विकल्पलाई समेत अस्वीकार नगरेको संकेत दिएको छ।
तर डेनमार्क र ग्रीनल्याण्ड प्रशासनले ग्रीनल्याण्ड बिक्रीका लागि नभएको स्पष्ट पार्दै आएका छन्। डेनमार्कले अमेरिकी सैन्य हस्तक्षेप भएमा ट्रान्स–एट्लान्टिक रक्षा गठबन्धन नेटो नै संकटमा पर्न सक्ने कडा चेतावनी दिएको छ।