काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभा सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।
उनले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत उम्मेदवार छनोट गरिएको भन्दै पार्टी निर्णयप्रति असहमति जनाएका हुन् ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै नेता केसीले पर्याप्त छलफल नगरी नौ जनाको नाम टुंग्याइएको आरोप लगाए। उम्मेदवार छनोट लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको उनको टिप्पणी छ ।
उनका अनुसार राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समय बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै भएन ।
उनले भने- 'चार दिनसम्म बैठक बसे पनि व्यक्तिको व्यक्तिगत औचित्य र योगदानमाथि छलफल भएन, अन्त्यमा टक्क सूची प्रस्तुत गरियो ।'
केसीले ६०-४० को भागबण्डाका आधारमा उम्मेदवार छनोट गरिएको आरोपसमेत लगाए । नौ जनाको सूचीमा आदिवासी जनजातिको प्रतिनिधित्व नहुनु दुःखद् भएको उनको भनाइ छ । उनले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले प्रक्रियागत छलफल नगरी सूची प्रस्तुत गर्नु लोकतान्त्रिक अभ्यास नभएको उल्लेख गरे ।
उनले कलाकार, साहित्यकार तथा लामो समय संघर्ष गरेका राजनीतिक व्यक्तित्वहरूलाई पनि प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए ।
नेता केसीले पार्टीको निर्णयप्रति आफ्नो असहमति औपचारिक रूपमा अभिलेख गराएको पनि जानकारी दिए ।