काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको मनोनयन दर्ता गर्ने दिनसम्म पनि प्रमुख दलहरुले सिट बाँडफाँट गरी तालमेलको प्रयास जारी राखेका छन् । तर तालमेलको अन्तिम निर्णय हुन सकेको छैन ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले बोली फेरेपछि सिट बाँडफाँटमा सहमति नजुटेको स्रोतले जनाएको छ । त्यसैले कांग्रेस-एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयास भइरहेको छ ।
राष्ट्रियसभामा २० फागुनदेखि रिक्त हुने १९ मध्ये १८ सिटका लागि (एक जना राष्ट्रपतिबाट मनोनीत हुने) आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ ।
सुरुमा कांग्रेस–एमालेले ७–७, नेपाली कम्युनिस्ट पार्टीले ३ र जसपा नेपालले १ सिट बाँडफाँट गरेर तालमेल गर्ने विकल्पमा छलफल भएको थियो । तर आफ्नो मतभार बमोजिम नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्तिमा चार सीट दावी गरेका थिए ।
त्यसपछि मंगलबार पत्रकारहरुसँग कुरा गर्दै कसैसँग तालमेल नगर्ने बताएका थिए ।