Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा

रनवे घटाएर भद्रपुर विमानस्थल सञ्चालनमा

शनिवार , पौष १९, २०८२

झापा । भद्रपुर विमानस्थलमा शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको छ।

दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकाले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा सञ्चालनमा ल्याइएको हो ।

रनवे छोट्याएर विमानस्थल सञ्चालन गरिएकाले त्यसबारे जानकारी सबै पाइलटलाई नियमित रूपमा गराइँदै आएको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिए।

खत्रीका अनुसार शुक्रवार राति ९ बजेर १० मिनेटमा ल्याण्ड गर्ने क्रममा जहाज रनवेबाट बाहिर गएको थियो।

उनले विमान दुर्घटनाको यकिन कारण हालसम्म नखुलेको बताए। प्राविधिक कारणले दुर्घटना भएको हुनसक्ने उल्लेख गर्दै उनले अनुसन्धानपछि मात्रै वास्तविक कारण खुल्ने जानकारी दिए।

उनले भने- 'विमानस्थलको दुर्घटना ठ्याक्कै यही कारणले भएको भन्ने अनुसन्धानपछि मात्रै थाहा हुन्छ । अहिले तत्काल हेर्दाखेरि हिजो मौसमको कारणले पनि होइन, प्राविधिक कुराहरू प्राविधिकको अनुसन्धानपछि थाहा हुने कुरा भो । हाम्रो साइडबाट हेर्दा हामीले मौसमहरू हेर्ने हो । मौसम त्यतिखेर यो अवस्थामा आउने थिएन । त्यसमा केही प्राविधिक कुरा हुनसक्छ ।'

काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रनवेको पूर्वतर्फ करिब ३०० मिटर ओभर रन भई दुर्घटनामा परेको थियो ।

उक्त जहाजमा ५१ जना यात्रु, चार जना चालक दलका सदस्य र एक जना इन्जिनियर सवार थिए ।

दुर्घटनामा परी विमानका को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना यात्रु घाइते भएका छन् । घाइतेमध्येको पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको र भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

अन्य ६ जना यात्रुहरू भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077