अछाम । चौरपाटी गाउँपालिकामा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गतका विभिन्न गतिविधिहरूको संयुक्त अनुगमन गरिएको छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र साझेदार संस्था मालिका विकास संघ नेपालमार्फत सञ्चालनमा रहेको एकीकृत सामुदायिक विकास परियोजनाको सन् २०२५ मा सम्पन्न गतिविधिहरूको संयुक्त अनुगमन गरिएको हो ।
अनुगमन कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउँद, जनप्रतिनिधिहरू, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुखहरू, गुड नेवर्स इन्टरनेशनल नेपालका कलस्टर संयोजक तेज प्रसाद शर्मा, परियोजना अधिकृत टेक बहादुर रावल, मालिका विकास संघ नेपालका एकेन्द्र बहादुर विकलगायत सरोकारवालाहरूको उपस्थिति थियो ।
अनुगमन टोलीले परियोजनामार्फत समुदायमा सञ्चालन भएका विद्यालय मर्मत, गाउँघर क्लिनिक निर्माण, विद्यालयमा महिनावारीमैत्री शौचालय तथा खानेपानी धारा निर्माण, र कृषि क्षेत्रअन्तर्गत तरकारी खेतीको अवस्थाको स्थलगत अवलोकन गरेको थियो ।
कार्यक्रमकै क्रममा विद्यालय जान छोडेकी एक बालिकाको घरभेट गरी पुनः नियमित रूपमा विद्यालय फर्काउन पहल गरिएको थियो । अनुगमन टोलीले ती बालिकाकी आमालाई आवश्यक सल्लाह–सुझाव दिँदै चौरपाटी गाउँपालिका र परियोजनाको तर्फबाट विद्यालय पोशाक र शैक्षिक सामग्री उपलब्ध गराउने व्यवस्था मिलाएको मालिका विकास संघका परियोजना अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।
त्यसपछि ती बालिका हाल नियमित रूपमा विद्यालय जान थालेकी छन् । संयुक्त अनुगमनपछि स्थानीय परियोजना सल्लाहकार समितिको बैठक चौरपाटी गाउँपालिका अध्यक्ष भीम साउँदको अध्यक्षतामा सम्पन्न भएको छ ।
बैठकमा वडा नं. १, ३ र ४ का वडा अध्यक्षहरू तथा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरूको सहभागिता थियो । बैठकले सन् २०२५ मा परियोजनाले गरेका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्ष कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरेको बताइएको छ ।
अध्यक्ष साउँदले गाउँपालिकाले परियोजनासँग समन्वय र सहकार्य गर्दै सामुदायिक विकासका कार्यक्रमहरूलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय तह, साझेदार संस्था र समुदायबीचको सहकार्यमा अघि बढिरहेको यस परियोजनाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको सहभागीहरूको भनाइ छ ।