Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

चौरपाटीमा पालिकास्तरीय 'बालकचहरी' कार्यक्रम : बालअधिकार संरक्षणमा संयुक्त प्रतिबद्धता

चौरपाटीमा पालिकास्तरीय 'बालकचहरी' कार्यक्रम : बालअधिकार संरक्षणमा संयुक्त प्रतिबद्धता

सोमवार , मंसिर २२, २०८२

अछाम । चौरपाटी गाउँपालिकामा पालिकास्तरीय बालकचहरी कार्यक्रम सरोकारवाला निकायको उल्लेखनीय सहभागितामा सम्पन्न भएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र मालिका विकास संघ नेपालद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत पालिकास्तरीय बालकचहरी कार्यक्रम भएको हो ।

कार्यक्रममा गाउँपालिकाभित्रका माध्यमिक तहका ८ वटा विद्यालयका विद्यार्थी क्लव, पालिकास्तरीय बालसञ्जाल, स्थानीय प्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालासहितको सहभागिता रहेको थियो ।

कार्यक्रममा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत धनबहादुर थापा, वडाध्यक्षहरू, सिउँडी प्रहरी चौकी इन्चार्ज रमेशकुमार नाथ, कार्यपालिका सदस्य, शिक्षक प्रतिनिधि तथा गुड नेवर्स इन्टरनेशनल नेपालका क्लस्टर संयोजक तेजप्रसाद शर्मा र कार्यक्रम अधिकृत टेकबहादुर रावल सहभागी थिए ।

डोटी जिल्ला समन्वय इकाईका प्रमुख भीमप्रसाद पनेरूले कार्यक्रमको सहजीकरण गरेका थिए । बालबालिकामाथि हुने लैंगिक हिंसा, दुर्व्यवहार, शोषण, बालअधिकार तथा संरक्षण सम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र खुला छलफल कार्यक्रममार्फत कार्यक्रममा सहभागी विद्यार्थी तथा सरोकारवालालाई सचेत बनाइएको मालिका विकास संघका परियोजना अधिकृत टिकाराम ढुंगानाले जानकारी दिए ।

विद्यार्थीहरूले विद्यालय तथा समुदायमा देखिने विभिन्न जोखिम, समस्या र समाधानका सुझावहरू पनि कार्यक्रममा प्रस्तुत गरेका थिए । गाउँपालिका अध्यक्ष भीमबहादुर साउदले चौरपाटी गाउँपालिका बालबालिकाको हित तथा संरक्षणका कार्यक्रमप्रति निरन्तर प्रतिबद्ध रहेको बताए ।

उनले भने-'बालअधिकार र संरक्षण क्षेत्र हाम्रो प्राथमिकतामा छ। समग्र समुदायमा जनचेतना बढाउन गाउँपालिकाले नियमित रूपमा बजेट विनियोजन गर्दै आएको छ । आगामी दिनमा पनि साझेदार निकायहरूसँग सहकार्य गर्दै बालमैत्री कार्यक्रमलाई अझ सुदृढ बनाइनेछ।'

कार्यक्रमले स्थानीय तहमा बालमैत्री शासन, सुरक्षित विद्यालय वातावरण र समुदायमा बालअधिकार सम्बन्धी जनस्तरको चेतना वृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077