काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट लाखौँको धनमाल चोरी भएको छ।
प्रहरीका अनुसार काठमाडौंका तीन र ललितपुरका दुई स्थानमा सोमबार दिउँसो नगद र गरगहना चोरी भएको हो ।
सोमबार दिउँसो काठमाडौको तारकेश्वर नगरपालिका–११ नेपालटारमा सुनिता बजगाईंको कोठाबाट रु दुई लाख ९१ हजार, तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा जयराम अधिकारीको घरबाट रु तीन लाख ७७ हजार र काठमाडौं महानगरपालिका–१५ मा धर्मरत्न शाहीको कोठाबाट सुन तथा चाँदीका गरगहना र ल्याप्टप एक थान गरी करिब रु सात लाख ४० हजार बराबरको सुन तथा चाँदी गरगहना र नगद चोरी भएको छ।
यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–१ भैरव टोलमा जानेन्द्रलाल कर्णको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी रु चार लाख चार हजार र कृष्ण मन्दिर चोक नजिकै बाबुराम पाण्डेको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी रु ३९ लाख ४७ हजार बराबरको धनमाल चोरी भएको छ।
चोरीमा संलग्नहरु फरार रहेका छन् । उनीहरुको खोजी गर्नुका साथै सो सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।