चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि आवश्यक भुक्तानी सहजीकरण माग गर्दै भरतपुर महानगरपालिका टोली सिंहदरबार पुगेको छ ।
महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलसहितको टोलीले प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, मुख्य सचिव तथा सम्बन्धित सचिवहरूसँग भेटेर रकम भुक्तानी प्रक्रियामा सहजीकरण गराइदिनका लागी आग्रह गर्न सिंहदरबार पुगेका हुन् ।
धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ। सङ्घीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि भुक्तानी प्रक्रिया नमिल्दा फाउण्डेशनले रकम पाउन सकेको छैन।
निर्माण कार्य बिचमै रोकिएपछि महानगर प्रमुख दाहालले संघीय सरकारले विनियोजन गरेको १५ करोड रुपैयाँ चाँडो भुक्तानी हुने वातावरण बनाउन अनुरोध गरेकी छन् ।
उनले भनिन्- ‘हामी सकेसम्म छिटो भुक्तानी गर्न चाहन्छौँ । प्रक्रियामा सहजीकरण अत्यन्तै आवश्यक छ ।’
धुर्मुस–सुन्तली फाउण्डेशनले सुरु गरेको रंगशाला निर्माण कार्य बिचमै रोकिएपछि जिम्मेवारी भरतपुर महानगरलाई हस्तान्तरण भएको हो ।
फाउण्डेशनले ५७ करोड १२ लाख रुपैयाँ बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ, जसमा १८ करोड ४३ लाख उधारो रहेको उल्लेख छ ।
रङ्गशाला निर्माणलाई अघि बढाउन विसं २०८० कात्तिक २१ मा बाग्मती प्रदेश सरकार र भरतपुर महानगरबीच सहमति भएको थियो । त्यसपछि संघीय सरकारले यस आयोजना ‘राष्ट्रिय गौरवको आयोजना’ का रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।
महानगरले २०८१ असारदेखि निर्माण पुनः सुरु गरिसकेको छ र हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
फाउण्डेशनले रु ५७ करोड १२ लाख बराबरको काम सम्पन्न गरेको दाबी गर्दै आएको छ। जसमध्ये रु १८ करोड ४३ लाख उधारो रहेको जनाइएको छ।