काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कानुनी राज्यमा कसैलाई पनि सडकबाट अपराधिकरण गर्ने छुट नभएको बताएका छन् ।
आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् ।
उनले आन्दोलनमा निजी क्षेत्रमाथी प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पतीमाथी हमला गर्नु सह्य नहुने चेतावनी समेत दिएका छन् ।
लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने भन्दै उनले भने- 'सम्पती सिर्जना गर्ने व्यक्तिले व्यक्तिगत तवरले कुनै गल्ती गरेको छ भने उसलाई कारबाही गर्ने कानुनहरु हुन्छन्, कानुनसंवत ढंगले कुनैपनि व्यक्तिलाई अपराधिकरण गर्ने वा कारबाही गर्ने हो । सडकबाट कसैलाई औला ठडाएर अपराधिकरण गर्नु चाँही कानुनी राज्यमा मिल्दै मिल्दैन ।'
सडकबाट अपराधि करार गरेर निजी सम्पतीमाथी हमला गर्न नमिल्ने उनको भनाई थियो ।
नेपालमा नेपाली वा विदेशी जसले सम्पती सिर्जना गरेपनि त्यो मुलुकको सम्पती हुने उल्लेख गर्दै भने- 'मुलुकमा जो सुकैले सम्पती सिर्जना गरेपनि कसैले हाईड्रोपावर बनायो, कसैले डिर्पामेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो ।'