काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन केन्द्र बञ्चरेडाँडामा उत्पन्न समस्या समाधानका लागि गरिएको बहुपक्षीय वार्ता फेरि निष्कर्षविहीन भएको छ ।
विगतका सहमति कार्यान्वयनको माग राख्दै फोहोर प्रवेश अवरुद्ध गर्दै आएका स्थानीयले एकपछि अर्को नयाँ माग थप्दै लगेपछि वार्ता अन्तिम चरणमै पुगेर रोकिन बाध्य भएको हो ।
बुधबारदेखि फोहोर फाल्न रोक लगाइएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङको संयोजनमा शहरी विकास मन्त्रालय, धादिङको धुनिवेंसी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काठमाडौं महानगरपालिका तथा स्थानीय प्रतिनिधिहरू सहभागी बैठक बसेको थियो ।
वार्ताको क्रममा अधिवक्ता सुभास पाठकले बैठकमा सहमति हुने गरी ९ बुँदे मस्यौदा तयार गरेका थिए। प्रारम्भिक छलफलमा दुवै स्थानीय तहका जनप्रतिनिधि पनि सहमत देखिएका थिए ।
तर, अन्तिम चरणमा हस्ताक्षर गर्ने बेला स्वयम् मस्यौदा तयार गर्ने पाठकले नै असहमति जनाएर बैठकबाट बाहिरिए । पाठकको असहमतिपछि अन्य जनप्रतिनिधिले पनि दस्तखत नगरेपछि वार्ता रोकिएको हो ।
मन्त्री घिसिङले विगतका अधिकांश सहमति कार्यान्वयन भइसकेको जिकिर गर्दै नयाँ मागहरू लगातार थपिँदा समस्या समाधान गम्भीर रूपमा प्रभावित भएको बताए ।
उनले भने, 'प्रधानमन्त्रीसँग पनि छलफल गरेर सहमतिहरू कार्यान्वयनतर्फ सकारात्मक रूपमा अघि बढिरहेका छौँ। तर एकपछि अर्को माग राख्दै फोहोर अवरोध गरिरहनुले गलत सन्देश जान्छ। यस्तो स्थिति दोहोरिएमा यो विषयलाई महानगर र स्थानीयबीचमै छोडेर सरकार हात उठाउन बाध्य हुन सक्छ।'