काठमाडौं । नेपाल वायुसेवा निगमको सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई निगमको कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालका महत्त्वपूर्ण कार्यलाई अगाडि बढाउन श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो ।
नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको अवकाशपछि सरकारले निगमका उप कार्यकारी निर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएको थियो ।
आफूसँग आर्थिक अधिकार नभएको तर अपेक्षामात्रै गरिएको भन्दै उनले सञ्चालक समितिको बैठकमा ‘काम गर्न नसक्ने’ घोषणा गरेर पर्यटन मन्त्रालयमा त्यसको जानकारी गराएका थिए ।
निगमका केही अत्यावश्यक काम तत्काल निर्णय लिनुपर्ने भएकाले मंगलबारको मन्त्रिपरिषद बैठकले सञ्चालक समितिका सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकमा नियुक्त गरेको हो ।
उनी निगममै साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमाकार्यरत रही अवकाश प्राप्त कर्मचारी पनि हुन् ।