काठमाडौँ । सरकारले देशभर करिब आठ महिनाका लागि जग्गाको कित्ताकाट खुला गरेको छ ।
भू–उपयोगसम्बन्धी नियमावलीमा गरिएको संशोधनपछि २०८३ असार मसान्तसम्म सबै स्थानीय तहमा कित्ताकाट गर्न सकिने भएको हो ।
यसअघि भू–उपयोग वर्गीकरण पूरा नगरेका स्थानीय तहमा २०८२ असार मसान्तदेखि कित्ताकाट बन्द हुने प्रावधान थियो । यो कारण देशभर करिब ५०० स्थानीय तहमा घरजग्गा कारोबार ठप्पजस्तै बनेको थियो। संशोधित नियमावलीमा यो मिति २०८३ असार मसान्त कायम गरिएको छ ।
योसँगै सो अवधिसम्म देशभर कित्ताबाट गर्न पाइनेछ । भूउपयोग वर्गीकरण गरेका स्थानीय तहमा भने यसअघि नै कित्ताकाट खुला रहँदै आएको थियो, असारपछि पनि यो निरन्तर रहनेछ ।
कित्ताकाट गर्न बाँकी स्थानीय तहले आगामी असार मसान्तसम्म यस्तो वर्गीकरण गरिसक्नुपर्नेछ । अन्यथा फेरि कित्ताकाट बन्द हुनेछ ।
देशभरका ७५३ स्थानीय तहमध्ये झन्डै दुई–तिहाइमा कित्ताकाट रोकिँदा घरजग्गा कारोबार, लगानी, बैंकिङ प्रवाह र स्थानीय राजस्वमध्ये गम्भीर असर परेको थियो।