काठमाडौं । सौन्दर्य व्यवसायमा आबद्ध एञ्जिला धमला वैचारिक कुरूपताको उदाहरण बनेकी छन् । झापाको विर्तामोडमा सौन्दर्य व्यवसाय गर्दै आएकी उनले अर्काको ब्युटीपार्लर जलाउन आह्वान गर्दै टिकटक बनाएपछि उनको आपराधिक सोचको उजागर भएको छ ।
उनले ब्युटीपार्लर र त्यसका सञ्चालकको नाम नतोकीकनै त्यसको ९–१० वटा शाखा रहेको र भाटभटेनी सुपरमार्केट जस्तै गरी जलाइदिनु पर्ने तर्क गरेकी छन् ।
नेपालमा हालै भएको जेनजी आन्दोलनपछि सामाजिक सञ्जाल टिकटकमा एक भिडिओ पोष्ट गर्दै उनले पुनः आन्दोलन भएमा सुरूमै उक्त ब्युटीपार्लर जलाउने कार्यमा सहभागी हुन ब्युटिसियनहरूलाई आह्वान गरेकी हुन् ।
उक्त भिडिओको विषयमा अनलाइन नेपालले उनीसँग फोन सम्पर्क गरेर बुझ्दा उनले त्यसलाई स्वाभाविक भनिन् । भिडिओमा आफूले कसैको नाम नलिएको भन्दै आफ्नो बचाउ गरिन् । तर, यसबाट उनको गल्ती र आपराधिक सोच भने छिप्न सकेको छैन ।
खासमा उनको आशय आफ्नो क्षेत्र आसपास सेवाग्राहीलाई सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने कुनै पनि ठूला पार्लरहरू खुल्न नहुने भन्ने रहेको स्रोत बताउँछ । यदि खुलिहालेमा वा त्यसका कारण आफूहरूको नियमित व्यापारमा कमी आएमा त्यसलाई जलाइदिने उनको धम्की छ ।
भाटभटेनी सुपरमार्केट जलाएजस्तै गरी ब्युटीपार्लर पनि जलाइदिनुपर्ने अभिव्यक्तिबाट भाटभटेनी जलाउने कार्यमा उनी आफै पनि संलग्न हुनसक्ने देखिन्छ । किनकि जेनजी आन्दोलनका क्रममा विर्तामोडस्थित भाटभटेनीको आउटलेट जलाएर पूर्ण रूपमा नष्ट गरिएको थियो ।
साथै, उनी भाटभटेनीले व्यापार र रोजगारी सिर्जना गरेकोमा भन्दा त्यसलाई जलाएर खरानी बनाइएकोमा खुसी देखिनुले पनि यसमा उनको संलग्नता हुनसक्ने आशङ्कालाई थप बल पुग्छ ।
अराजक गतिविधिलाई हाकाहाकी प्रोत्साहन गर्दै त्यसैअनुसारको विचार प्रकट गर्नुले कथंकदाचित उनले भनेअनुसारको घटना घटेमा भविष्यमा उनी आफै कानुनी फन्दामा पर्ने देखिन्छ ।
ब्युटीपार्लर जलाउन आह्वान गर्दै के भनेकी थिइन् एञ्जिला धमलाले ?
अस्ति जेनजीले ९–१० वटा ब्रान्च खोलेको झुटा प्रचारप्रसार गर्ने होनहार ब्युटिसियन दिदीको ब्युटीपार्लर भाटभटेनीजस्तै जलाइदिनुपर्थ्यो ।
दिदीको ब्युटीपार्लरका ब्रान्चहरू धेरै छ रे, अनि राजनीतिक क्षेत्रमा पनि उहाँ एकदम अगाडि हुनुहुन्छ रे भनेको सुनेकी थिएँ । सुन्नमा आएको हो तर भेटेको, चिनेको, जानेको छैन ।
त्यतिखेर चाहिँ कहाँ लुकेर बस्नुभएको रहेछ उहाँ ? उहाँ पनि पार्टीकै मान्छे रे भनेको सुनेकी थिएँ । तर, फेरिफेरि यसरी नै आन्दोलन भयो भने चाहिँ हामी सबै ब्युटिसियन दिदीबहिनी सुरूमै पीएचडीवाली ब्युटिसियन दिदीकोमा जानुपर्छ है त !
[video width="368" height="656" mp4="https://media.sobizcdn.com/onlinenepal.com/media-file/images/2025/10/anjila.mp4"][/video]