काठमाडौं। जेनजी आन्दोलनमा जलाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको ट्राफिक प्रहरी कन्ट्रोल रुम सञ्चालनमा आएको छ।
उक्त कन्ट्रोल रुमको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले आज उद्घाटन गरेका हुन्।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष महेशकुमार श्रेष्ठ र उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले ट्राफिक कन्ट्रोल रुमको चाबी कार्कीलाई हस्तान्तरण गरेका थिए।
परिषदले जेनजी आन्दोलनमा जलाइएको कन्ट्रोल रुम बनाउन सहयोग गरेको थियो। कन्ट्रोल रुममा जडित प्रविधिको उपयोगबाट सवारी दुर्घटना तथा अपराध न्यूनीकरणमा महत्त्वपूर्ण र समाजका लागि सकारात्मक कार्य अध्यक्ष श्रेष्ठले बताए।
अब शीघ्र ब्रेथलाइजर हस्तान्तरणको योजना बनाइरहेको पनि अध्यक्ष श्रेष्ठले बताए। कार्कीले यो सहकार्यका लागि गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र पदाधिकारीलाई धन्यवाद दिएका छन्।
२५ भदौमा जेनजी आन्दोलनकारीले कन्ट्रोल रुम जलाएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुँदै आएको थियो।
कन्ट्रोल रुममा प्रहरीहरू बसेर उपत्यकाका चोक-चोकका गतिविधि नियालेर जामको समस्या आउँदा यही कन्ट्रोल रुमबाट प्रहरी खटाएर समाधानको प्रयास गरिन्थ्यो।
उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले नयाँ बनेको कन्ट्रोल रुमबाट ट्राफिक व्यवस्थापनमा पुन: सहजता आउने बताए।
