एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट हाउसबाट प्रस्थान गर्नु अघि क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई भेट्ने कुनै योजना नभएको स्पष्ट पारेका छन्।
पत्रकारहरूले 'के तपाईं एसियामा प्रधानमन्त्री कार्नीसँग वार्ता गर्नुहुन्छ ? भनेर सोध्दा राष्ट्रपति ट्रम्पले उत्तर दिए- 'होइन, मेरो कुनै योजना छैन। उनीहरूले गरेको काम साँच्चिकै बेइमानी हो। मैले सुनेँ कि उनीहरूले विज्ञापन हटाउने तयारी गर्दै थिए, तर मलाई थाहा थिएन कि उनीहरूले यसलाई अझ विस्तार गरेका रहेछन्। सम्भवतः उनीहरूले यो आज रातसम्म हटाउँछन्”, ट्रम्पले विवादास्पद क्यानाडाली विज्ञापनबारे कडा प्रतिक्रिया दिँदै भने, ठिक छ, यो फोहोरी खेल हो, तर म उनीहरूले गर्न सक्नेभन्दा पनि फोहोरी खेल्न सक्छु।'
राष्ट्रपति ट्रम्पका यी टिप्पणीहरू क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त गर्ने उनको बिहीबारको घोषणापछि आएका हुन्।
उक्त निर्णय उनले ‘नक्कली’ विज्ञापनको प्रतिक्रियामा गरेका थिए, जसमा पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको करसम्बन्धी भाषणलाई तोडमोड गरी प्रयोग गरिएको थियो।
ट्रम्पले आफ्नो ट्रुथ सोसलमा लेख्दै भने- 'रोनाल्ड रेगन फाउन्डेसनले पुष्टि गरेको छ कि क्यानाडाले छलपूर्वक एक नक्कली विज्ञापन प्रयोग गरेको छ, जसमा रेगनले कर विरुद्ध बोलेको जस्तो देखाइएको छ। त्यो विज्ञापनको लागत ७५ हजार डलर थियो। उनीहरूले अमेरिकी सर्वोच्च अदालत र अन्य अदालतका निर्णयहरूमा प्रभाव पार्नका लागि यस्तो काम गरेका हुन्। कर नीति संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा र अर्थतन्त्रका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। क्यानाडाको गैरजिम्मेवार व्यवहारका कारण उनीहरूसँगका सबै व्यापार वार्ताहरू समाप्त गरिएको छ। धन्यवाद, राष्ट्रपति डिजेटी।'
यसबीच ओन्टारियोका प्रिमियर डग फोर्डले व्यापार वार्ता पुनः सुरु गर्न सकियोस् भन्ने उद्देश्यले प्रधानमन्त्री कार्नीसँगको छलफलपछि विवादास्पद विज्ञापन अभियान सोमबारदेखि रोकिने भएको बताएका छन्। तर उनले सप्ताहन्तमा एमएलबी विश्व शृङ्खलाका खेलहरूमा उक्त विज्ञापन अझै प्रसारित हुने स्पष्ट पारे।
क्यानाडाको ओन्टारियो सरकारले भुक्तान गरेको भनिएको उक्त विज्ञापन अभियानका लागि करिब सात करोड ५० लाख अमेरिकी डलर खर्च भएको जनाइएको छ र ती विज्ञापनहरू प्रमुख अमेरिकी टेलिभिजन सञ्जालहरूमा प्रसारण भइरहेका छन्।