काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्नता आरोपित पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको थुनछेक बहस आज काठमाडौं जिल्ला अदालतमा हुँदैछ ।
मंगलबार अदालतमा बयान प्रक्रिया सकिएपछि आज थुनछेक बहस गर्ने तयारी भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई पक्राउ गरी विस्तृत अनुसन्धान प्रतिवेदनसहित सोमबार जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
महराविरुद्ध भन्सार छली र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । भेप सुन तस्करी प्रकरणसँग सम्बन्धित अनुसन्धानका क्रममा सीआईबीले पर्याप्त प्रमाण फेला पारेको दाबी गर्दै उनको संलग्नता पुष्टि भएको जनाएको छ ।
अदालतमा आज हुने थुनछेक बहसपछि महरालाई थुनामा पठाउने वा साधारण तारेखमा छोड्नेबारे निर्णय हुने अपेक्षा गरिएको छ।