काठमाडौं । विपिन जोशीको निधनप्रति इजरायली राष्ट्रपति आइज्याक हर्जोगले दुःख प्रकट गरेका छन्।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई फोन गरी राष्ट्रपति हर्जोगले दुःख प्रकट गरेका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हर्जोगले मंगलबार अपराह्न राजदूत पण्डितलाई समवेदना प्रकट गर्न फोन गरेका थिए।
त्यसक्रममा हमासको कब्जामा रहेका विपिनको मृत्यु भएकोमा उनले दुःख प्रकट गरेका थिए।
इजरायल–हमास युद्धविरामसँगै हमासले सोमबार २० जना जीवित बन्दीहरू रेडक्रसमार्फत् इजरायललाई हस्तान्तरण गरेको थियो।
लगत्तै चार जना मृतक बन्दीहरूको शव पनि हस्तान्तरण गरेको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशीको शव पनि थियो।
शव हस्तान्तरण गरिएको भोलिपल्टै राष्ट्रपति हर्जोगले राजदूतावासमार्फत् समवेदनाका लागि फोन गरेका हुन्।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए भने हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए । हमासले विपिनको शव मंगलबार हस्तान्तरण गरेको थियो ।