काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेपका बट्टाभित्र करिब ९ किलो सुन लुकाएर ल्याएको घटनासँग सम्बन्धित मुद्दामा आयोगले बिहीबार महरासँग बयान लिएको हो ।
स्रोतका अनुसार महरा बिहीबार दिउँसो नै अख्तियारको केन्द्रीय कार्यालय, पुल्चोक पुगेका थिए । उनीसँग अनुसन्धान अधिकृतहरूको टोलीले करिब दुई घण्टा लामो बयान लिएको बताइएको छ ।
२०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङ फ्लाई दुबईको उडानबाट काठमाडौं आइपुगेका थिए । उनका साथमा रहेका भेपका ७३ वटा बट्टाभित्र ७३० थानमा विभाजन गरी करिब ९ किलो सुन लुकाइएको पाइएको थियो ।
यो सुन काण्डमा ठूलो तस्करी सञ्जालको संलग्नता रहेको शंका उठेको थियो। प्रारम्भिक अनुसन्धानपछि यो प्रकरणमा विमानस्थल भन्सार, सुरक्षा निकाय र उच्च तहका केही व्यक्तिहरूको सम्भावित संलग्नता रहेको आरोपसमेत लागेको थियो ।
यसअघि महरालाई सोही मुद्दामा पक्राउ गरी धरौटीमा रिहा गरिएको थियो । उनका छोरा राहुल महरा पनि यसअघि यसै प्रकरणमा पक्राउ परेका थिए ।