काठमाडौंं । मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि जुनसुकै निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै निर्वाचन आयोगले अनलाइन फारम भरेका व्यक्तिहरूले नजिकको कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर आवश्यक प्रक्रिया पूरा गर्न सक्ने जनाएको हो ।
अनलाइन आवेदन applyvr.election.gov.np बाट भरेपछि आवेदकले फोटो खिचाउने र बायोमेट्रिक दिने मिति र स्थानबारे जानकारी लिन सक्ने छन् । यो प्रक्रिया प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूका साथै अनलाइन माध्यमबाट पनि गर्न सकिने आयोगले जनाएको छ ।
काठमाडौं उपत्यकाभित्र मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित ललितपुर जिल्ला निर्वाचन कार्यालय र सल्लाघारी सिर्जनानगरस्थित भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने छ ।
निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली सङ्कलन जारी राखेको छ । १६ वर्ष उमेर पूरा भएका र नेपाली नागरिकताको प्रमाणपत्र भएका हरेक नागरिकले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।