काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचन लागि १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ जना विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
आयोगले बुधवार निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी गराएको हो ।
आयोगका अनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक–एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका छन् ।
निर्वाचन कार्यतालिकाअनुसार बिहीबार उजुरीउपर जाँचबुझ गरी निर्णय गरिनेछ ।
माघ ९ गते बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ ।मौन अवधिअघि घरदैलो तथा मतदातासँग भेटघाट गर्न पाइने भए पनि जुलुस, र्याली र आमसभा गर्न निषेध गरिएको आयोगले स्पष्ट पारेको छ ।
माघ ९ गते दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन दिउँसो ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।
फागुन ३ गतेदेखि फागुन १८ गते रातिसम्म औपचारिक चुनावी प्रचारप्रसार गर्न पाइनेछ । फागुन १८ गते रातिदेखि मौन अवधि लागू हुनेछ ।