Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सौराहामा पर्यटक र हात्तीलाई समेत टीका : दशैंमा संस्कृति र पर्यटनको अनुपम संगम

सौराहामा पर्यटक र हात्तीलाई समेत टीका : दशैंमा संस्कृति र पर्यटनको अनुपम संगम

शुक्रवार , आश्विन १७, २०८२

चितवन । दशैंलाई नेपाली समाजमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि चिनाउने प्रयासस्वरूप यसपालि पर्यटकीय नगरी सौराहामा अनौठो दृश्य देखियो ।

यहाँका होटल व्यवसायीहरूले विदेशी पाहुनामात्र होइन, हात्तीलाई समेत टीका र जमरा लगाएर पर्वको रौनक साटेका हुन् ।

होटल व्यवसायी शिरलाल परियार र उनकी श्रीमतीको पहलमा 'दशैं पर्यटकसँगै' अभियान सुरु भएको पाँच वर्ष पूरा भएको छ। यस वर्ष पनि बेलायतका १२ र जर्मनीकी १ गरी १३ जना पर्यटकलाई परम्परागत नेपाली शैलीमा टीका–जमरा लगाइयो ।

उनीहरूलाई दही–चिउरा, सेलरोटी, मिष्ठान्नलगायत नेपाली परिकार खुवाइएपछि वातावरण झनै आत्मीय बन्न पुग्यो।
'हामी मानव मात्रै होइन, हात्तीलाई समेत टिका लगाएर चाड मनायौँ। यसले हाम्रो संस्कृति सबै जीवप्रति समानताको सन्देश दिन्छ,' होटल सञ्चालक परियारले बताए।

सौराहा आफैंमा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार भएकाले यहाँ आउने पाहुनाहरू हात्ती सफारी, जंगल वाक, डुङ्गा सफारी र थारु संस्कृतिले मोहित हुन्छन् ।

यद्यपि हालैको जेनजी आन्दोलन र मुग्लिन सडक खण्डमा हुने अवरोधले पर्यटन प्रभावित भए पनि, दशैं पर्वमार्फत स्थानीय व्यवसायीहरूले नयाँ आशा जगाएका छन्। पर्यटन व्यवसायी रमेश सिल्लवाल भन्छन्, 'चाडपर्वलाई अवसरमा बदल्दै पर्यटनलाई पुनः जीवन्त बनाउन सकिन्छ।'

बेलायती पर्यटक मेरिलन आफ्नो अनुभव सुनाउँदै भन्छिन् -'मैले यस्तो पर्व कहिल्यै देखेकी थिइनँ। सबैले टीका लगाए, मिठो खाना खुवाए, यो आत्मीयता अविस्मरणीय छ।'

यस वर्ष दशैंको अवसरमा नाचगान, नेपाली भेषभूषा र परम्परागत परिकारहरूको पनि विशेष प्रदर्शन गरिएको थियो। परियार भन्छन्, -'हामी व्यवसाय मात्र होइन, संस्कृति बेचिरहेका छौँ। यो नै हाम्रो सांस्कृतिक कूटनीति हो।'

पर्यटन विज्ञ विश्व सुवेदीका अनुसार, सौराहाले देखाएको यो अभ्यासलाई सरकार र पर्यटन बोर्डले नीतिगत रूपमा विस्तार गर्न सके देशको सांस्कृतिक पर्यटनले नयाँ उचाइ पाउनेछ ।

'पर्यटक हाम्रो पाहुना मात्र होइनन्, उनीहरूलाई पर्वमा सहभागी बनाउन सकियो भने त्यो अझ प्रभावकारी सांस्कृतिक दूत बन्न सक्छ,' सुवेदीले भने।

यसरी हात्तीलाई समेत टीका लगाएर मनाइएको सौराहाको दशैंले देखाएको आत्मीयता र मौलिकता भविष्यमा पनि विदेशी पर्यटकलाई नेपालतर्फ आकर्षित गर्ने विश्वास स्थानीय व्यवसायीहरूले लिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077