सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकामा बुधबार बिहान माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ।
बुधबार बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका वडा नम्बर- १ स्थित हर्दी खोलाकिनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर ४ जनाको मृत्यु भएको हो।
मृतकमध्ये तीन जना बालबालिका र एकजना वृद्ध महिला रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
घटना हरिपूर्वा नगरपालिका–१ स्थित सर्लाही र महोत्तरीको सीमामा पर्ने क्षेत्र भएको हो। माटो लिन खोलाको किनारमा पुगेका उनीहरूलाई अचानक माटोको ढिस्को खस्दा पुरिएको स्थानीयले बताएका छन्।
मृत्यु हुनेहरू सबै महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाका हुन्। मृतकमा ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सबिबा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार चारै जनालाई घटनास्थलबाट अचेत अवस्थामा उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा लगिएको थियो। अस्पतालमा चिकित्सकले सबैलाई मृत घोषणा गरेका हुन्। चारै जनाको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।
स्थानीय धर्मेन्द्र पासवानका अनुसार चाडपर्वका लागि पूजापाठमा प्रयोग हुने माटो लिन छ जना एकैसाथ खोला किनारमा गएका थिए। माटो खन्ने क्रममा ढिस्को खसेपछि चार जना पुरिए भने दुई जना भाग्न सफल भएका थिए। सुरक्षित रहेका उनीहरूकै सूचनाका आधारमा गाउँले र प्रहरी घटनास्थल पुगेका थिए।