काठमाडौं । कम्तीमा सय महिलालाई रोजगारी दिने निर्यातमूलक उद्योगलाई न्यूनतम ब्याजदरमा कर्जा दिइने भएको छ।
नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ एकीकृत निर्देशनमा न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि गरी कूल उत्पादनको २५ प्रतिशत निर्यात गर्ने उद्योगलाई इजाजत प्राप्त संस्थाले आफ्नो आधार दरमा बढीमा १ प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जाको ब्याजदर तोक्न सकिने व्यवस्था छ।
यस्तै, जेनजी पुस्ताका प्रदर्शनका क्रममा असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा ०.५० प्रतिशत बिन्दु प्रिमियम थप गरी कर्जा दिन सकिने व्यवस्था छ।
त्यस्तो कर्जा १ वर्ष वा संस्था सञ्चालनमा आउने अवधिमध्ये जुन कम हुन्छ, त्यो अवधिसम्म प्रवाह गर्नुपर्नेछ। यस्तो कर्जामा लाग्ने ब्याजदरमा ६ महिनासम्म २ प्रतिशत ब्याज सरकारबाट अनुदानमा प्राप्त हुनेछ। यस्तो कर्जाका लागि रोजगारदाता संस्थाले आगामी पुस मसान्तभित्र आवेदन दिनुपर्नेछ।