Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिंहदरबार जलेपनि सरकारी कर्मचारीले दशैं अगाडि नै तलव–भत्ता पाउने

सिंहदरबार जलेपनि सरकारी कर्मचारीले दशैं अगाडि नै तलव–भत्ता पाउने

आइतवार , भाद्र २९, २०८२

काठमाडौं । नेपाल सरकारको भुक्तानी प्रणाली सुचारु भएसँगै सरकारी कर्मचारीहरुले दशै अगावै सरकारको ढुकुटीबाट तलब–भत्ता पाउने भएका छन् ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार सरकारले आजैदेखि भुक्तानी दिने काम थालिसकेको हुँदा कर्मचारीहरुले पनि समयमै तलव पाउने भएका हुन् ।

जेनजीको आन्दोलनपछि राजस्व संकलनको काम समेत सुचारु भएको छ । धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका छन् । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयबाहेक अन्य कार्यालय समेत सञ्चालनमा आइसकेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।

अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड गरेका थिए । चार आन्तरिक राजस्व कार्यालय र चार भन्सार कार्यालयमा भने आंशिक क्षति भएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार शनिबारसम्म सरकारले १ खर्ब ४४ अर्ब ५८ करोड राजस्व उठाएको छ । अन्य आम्दानीसहित शनिबारसम्म सरकारको ढुकुटीमा १ खर्ब ४६ अर्ब ९२ करोड संकलन भएको छ ।

यसै अवधिसम्म सरकारको खर्च १ खर्ब २० अर्ब ७८ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिना सकिँदासम्म सरकारको ढुकुटी बचतमै देखिन्छ । तर, दशैं भत्तासहित अनिवार्य दायित्वको सबैभन्दा ठूलो हिस्सा भने भदौ मसान्तसम्म खर्च हुनेछ ।

भदौ २३ र २४ को आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा ठूलो नोक्सानी भएकाले सरकारलाई यो वर्ष लक्ष्य अनुरुप राजश्व उठाउन अप्ठेरो हुने देखिन्छ । आन्दोलनको क्षतिका कारण राजस्व संकलन र आर्थिक वृद्धि दुवैमा नकारात्मक असर पर्ने देखिन्छ ।

अर्कोतिर ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गराउनुपर्ने दायित्व पनि सरकारसँग छ । चुनावका लागि पनि अरबौं खर्च हुने भएकाले देशको आर्थिक अवस्थामा नकारात्मक असर गर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077