काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै सरकारमाथि तीव्र आक्रोश प्रकट गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै झापास्थित बि एण्ड सी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको जानकारी दिएका छन् ।
प्रसाईँले भने, “हिजोको आन्दोलनमा ज्यान गुमाएका साहसी युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। घाइते सबै साथीहरूको शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना गर्दछु। आन्दोलनमा घाइते हुनुभएका सबैका लागि बि एण्ड सी अस्पताल, झापामा निःशुल्क उपचारको व्यवस्था गरिएको छ। थप सहयोग आवश्यक परे म सधैं जेन–जीसँगै छु।”
प्रसाईँले हालको सरकारले निर्दोष युवामाथि गरेको दमनलाई “अक्षम्य अपराध” भन्दै कडा आलोचना गरेका छन्। उनले तिनकुने घटनाको उदाहरण दिँदै हालको प्रदर्शनमा पनि सरकारले आफैं घुसपैठ गराएको आरोप लगाए।
उनका शब्दमा, “तर, बच्चा मार्ने सरकार अझै सत्तामै बसिरहेको समाचारले रगत झन उम्लिएको छ। तिनकुने घटनामा जस्तै, यसपटकको आन्दोलनमा पनि सरकारले आफैं घुसपैठ गराएर निर्दोष युवामाथि दमन गर्नु अक्षम्य अपराध हो। अन्यायविरुद्धको संघर्ष जारी रहनेछ।”
प्रसाईँले न्याय र परिवर्तनका लागि आन्दोलनकारीहरूसँगै उभिने प्रतिबद्धता व्यक्त गरे । वर्तमान अन्यायपूर्ण शासन समाप्त नहुँदासम्म संघर्ष नरोकिने उनको भनाइ छ ।