काठमाडौं । ललितपुर जिल्ला प्रशासनले ललितपुर महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम आज बिहान ७ देखि राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।
कर्फ्यु आदेशअनुसार ललितपुर महानगरपालिकाका वडा नं २, ४, ९, १८ र २५ भित्रका केही क्षेत्रलाई चारकिल्ला तोकी सो सीमाभित्र कुनै व्यक्तिले आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउजस्ता गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी घिमिरेले शान्ति, सुरक्षा कायम गर्न र सम्भावित अप्रिय गतिविधि नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरिएको बताए ।
यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजोदेखि लगाएको कर्फ्युको समय अवधि भने आज बिहान ५ बजेबाट सकिएको छ ।
प्रहरीसँग झडप शुरू भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो मध्याह्नदेखि लगाएको कर्फ्युको समय बढाउँदै आज बिहान ५ बजेसम्म लम्ब्याएको थियो ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले हिजो काठमाडौं प्रदर्शन गर्दा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको थियो ।