काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले सरकारले नैतिक वैधानिकता गुमाएको बताएको छ।
जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनको क्रममा राज्यबाट भएको दमनप्रति विज्ञप्ति जारी गर्दै निहत्था नागरिकको हत्याको निन्दा गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ- 'युवा पुस्ताद्वारा जेनजि को नाममा २०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको वानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको ९समाचार अनुुसार १४ जना० र पत्रकारहरुसहित दर्जनौ घाइते भएको (२३ गते अपरान्ह्सम्म) घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ । मुलतः भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय छ। आफुले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो ।'
भ्रष्टाचारको विरोध र सरकारको स्वेच्छाचारीविरुद्धको विरोध प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य भएको समाजको निष्कर्ष छ।
'नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ । यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ ।
स्वाभिमान युवाहरु भ्रष्ट नेताहरुको नेतृत्वबाट मुक्ति चाहन्छन ।'