काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ७ पुगेको छ । त्रिवि शिक्षण अस्तपतालमा एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ७ पुगेको हो ।
यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै चार जनाको मृत्यु भएको थियो भने सिभिल अस्पताल र केएमसी अस्पतालमा एक÷एक जनाको मृत्यु भएको थियो ।
सामाजिक सञ्जालमाथि नेपाल सरकारले लगाएको प्रतिबन्धविरुद्ध आन्दोलनमा उत्रिएका जेनजी युवाहरुमाथि प्रहरीले गोली चलाएको थियो ।
स्वतःस्फूर्त सडकमा उत्रिएका प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै संसद भवनभित्रै प्रवेश गरेका थिए । उनीहरुले संसद भवनको सुरक्षामा खटिएको प्रहरी पोष्ट कब्जा गरेका थिए भने संसद भवनको गेटमा आगलागी समेत गरेका थिए ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रुग्याँस र पानीको फोहोरा पनि प्रहार गरेको थियो ।
स्थिति तनावग्रस्त भएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यु जारी गरेको छ । कर्फ्यु जारी भएपछि सेनाको टोली सडकमा आएको छ । तर पनि प्रदर्शनकारी रोकिएका छैनन् ।
नयाँबानेश्वर क्षेत्र अहिलेसम्म पनि तनावग्रस्त छ ।
उता, पोखरामा पनि कर्फ्यु आदेश जारी भएको छ । चितवनमा पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ । देशमा अन्य विभिन्न स्थानमा पनि जेनजी आन्दोलन जारी छ ।