काठमाडौं । सरकारले हालै नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन गरिरहेको दाबी गरे पनि प्रधानमन्त्रीको सचिवालय, सत्तारूढ दलका नेता लगायतले निर्वाध यी सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।
त्यसले आम प्रयोगकर्ताहरूमा झन् आक्रोश बढाएको छ ।
यसरी आक्रोश व्यक्त गर्नेमा काठमाडौंमा महानगरपालिकाका मेयर बालेन्द्र बालेन (शाह) पनि रहेका छन् ।
यसैक्रममा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा पोस्टमा कमेन्ट गर्दै उनले लेखेका छन्- 'यो पोस्ट कुन भीपीएनबाट हो ? नेपाली हो कि विदेशी ? साह्रै गारो हुने रहेछ भीपीएबाट चलाउन त !'
देउवाले शनिबार सुनसरीमा सहभागी भएको एउटा कार्यक्रमबारे उल्लेख गर्दै पाँच तस्वीर राखेर पोस्ट लेखेका थिए । 'आज सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नेपाल उराँव संघको स्थापन दिवस तथा करम पूजा कार्यक्रमलाई सम्बोधन गरेको छु ।'
सरकारले पटक-पटक सूचना जारी गर्दा पनि अटेरी गरेपछि नेपालमा सूचीकरण नभएको भन्दै फेसबुक, एक्स, युट्युब लगायतका २६ वटा सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारले निर्णय गरेको थियो ।