काठमाडौँ । नेपाल टेलिकमले कानुनबमोजिम दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गरिएको घोषणा गरेको छ । सरकारले हालै गरेको निर्णय कार्यान्वयन गर्दै टेलिकमले बिहीबारदेखि दर्ता नभएका सामाजिक सञ्जाल सेवा अवरुद्ध भएको जनाएको हो ।
बिहीबार मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणलाई दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जाल बन्द गर्न निर्देशन दिइएको थियो।
सोही निर्णयलाई कार्यान्वयन गर्दै प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएपछि टेलिकमले आज औपचारिक सूचना जारी गर्दै अवरुद्धको जानकारी गराएको हो।
यसअघि एनसेलले पनि आफ्ना प्रयोगकर्तालाई दर्ता नभएका सामाजिक सञ्जाल बन्द गरिएको सूचना सार्वजनिक गरिसकेको थियो।
सरकारी निर्णयसँगै अब फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायत दर्ता न भएका सामाजिक सञ्जाल नेपालमा निष्क्रिय हुने भएका छन्। यद्यपि टिकटक, भाइबरलगायत दर्ता भइसकेका प्लेटफर्म भने प्रयोग गर्न सकिने छन्।
सामाजिक सञ्जाल बन्द गर्ने यो निर्णयलाई लिएर मुलुकभर व्यापक बहस सुरु भएको छ।