काठमाडौं । जतिबेला सडक डिभिजनले ‘राम्रो’ कर्मचारी भन्दै सुबोध देवकोटलाई पुरस्कृत गर्दै थियो, त्यतिबेला नै सामाजिक संजालमा सुबोध देवकोटाले जिम्मेवारी लिएको बालाजु–ककनी खण्डको सडक दुर्दशाको फोटो भाइरल भइरहेको थियो ।
ती फोटो र भिडियो अहिले पनि अर्काइभमा हेर्न पाइन्छ । मानौं यस्तो लाग्छ, त्यो सडक काठमाडौंको होइन, कुनै दूरदराजको हो, जहाँ राज्यले बजेट नै पठाएको छैन । तर, यथार्थमा भने त्यस्तो होइन, सरकारले बजेट पठाएको छ तर काम नभएकोमात्र हो ।
यसबाट थाहा हुन्छ, आफूले जिम्मा लिएको काम सडक डिभिजन नुवाकोटका प्रमुख सुबोध देवकोटाले गर्दैनन् । बालाजु र ककनी सडक पनि नुवाकोट सडक डिभिजनको जिम्मेवारीभित्र पर्छ ।
स्रोत भन्छ–‘देवकोटाले पहुँच, शक्ति र रवाफ भने सधै देखाउने गर्छन् । कर्मचारी नेताको भएको धाक देखाउँदै उनी सधैं आकर्षक र रोजेको ठाउँमा जाने गर्छन् तर काम भने सिन्को भाँच्दैनन् । मानौं यस्तो लाग्छ, भौतिक पूर्वाधार मन्त्री, सचिव र सडक विभागका महानिर्देशक उनको गोजीका मान्छे हुन् । उनलाई कसैले चलाउन सक्दैन । सधैं आकर्षक कार्यालय र पुरस्कार उनले नै पाउनुपर्छ । यसपटक ल्यावमा काम गरेको भन्दै विभागले उनलाई पुरस्कृत गर्यो । जबकि यो बिधामा पुरस्कार दिनुपर्ने ठाउँ नै थिएन ।’
निमित्त डिभिजन प्रमुख भएर उनले २०७० देखि २०७५ सम्म धेरै ठाउँ चलाए । डीईमा बढुवा भएको थोरै वर्षमात्र भएको छ । बढुवा हुनेबित्तिकै उनले सधैं आकर्षक कार्यालय पाउने गरेका छन् । हाल उनी नुवाकोट डिभिजनमा कार्यरत छन् । यसपटक काठमाडौं डिभिजनमा आउन उनले शक्ति, पहुँच र रवाफ देखाउन सुरु गरेका छन् ।
२०७१/७२ सालतिर उनी सहिदमार्ग रोल्पा सडक डिभिजनको निमित्त डिभिजन प्रमुख थिए । त्यतिबेला उक्त कार्यालयमा सुवोध भन्दा दुई जना बरिष्ठ कर्मचारी गोविन्द वाग्ले र सुमन योगेश पहिले नै कार्यरत थिए ।
मन्त्रालयमा शक्ति र पहुँच प्रयोग गर्दै देवकोटा उक्त कार्यालयमा निमित्त कार्यालय प्रमुख भई सरुवा भए । त्यसपछि पनि वाग्ले र योगेश सुबोधको मातहतमा बसेर काम गर्न बाध्य भए । हाल योगेश भक्तपुर डिभिजनमा कार्यरत छन् ।
यसबाट सुबोधले शक्ति र पहुँच कति प्रयोग गर्नेरहेछन् भन्ने प्रष्ट हुन्छ । उपसचिवमा बढुवा हुनुअघि उपसचिवको बिल्ला भिरेर निमित्त योजना प्रमुख भई उनी सहिदमार्ग, गल्छी त्रिशुली, मदन भण्डारी झापामा कार्यरत रहे । तर त्यतिबेला पनि उनले आधिकारिक ट्रेड युनियनको राजनीति गर्न छाडेनन् ।
त्यसबेला पनि आधिकारिक ट्रेड युनियनको महासचिवको हैसियतबाट कर्मचारी राजनीति गरिरहे । त्यतिबेला उनी उपसचिव भएका कारण निमित्त भए तर अधिकृतको विल्ला भिरेर राजनीति गरिरहे । जुन कानूनअनुसार मिल्दै मिल्दैन ।
तर, सडकमा सुबोधलाई कानूनले कहिल्यै छोएको पनि छैन । निमित्त आयोजना प्रमुख भनेको उपसचिवसरहको हैसियत हो । निमित्त आयोजना प्रमुखले कानूनअनुसार टे«ड युनियनको राजनीति गर्न मिल्दैन ।
देवकाटा नुवाकोटमा बसेको दुई बर्ष पुग्न लागेको छ । तर नुवाकोटमा प्रमुख जिल्ला अधिकारीले बोलाएको कार्यालय प्रमुखहरुको बैठकमा उनी एकपटक पनि सहभागी भएका छैनन् ।
प्रजिअ मेरो मातहतमा छ, प्रजिले बोलाएको बैठमा म किन जाने ? भनेर सोझै भन्ने गर्छन् । प्रजिअले आफनो जिल्लाभित्र रहेका कार्यालय प्रमुख त्यसमा पनि सडक डिभिजन जस्तो महत्वपूर्ण विकासे अड्डाको प्रमुखलाई बोलाई बेला बेलामा प्रगतिको बारेमा छलफल गर्नुपर्ने हुन्छ ।
यस्तो छलफल सबै जिल्लामा हुने गर्छ । बर्षाको बेला सडक अवरोध हुँदा सडक खुलाउने विषयमा पनि प्रजिअले सडक डिभिजन प्रमुखलाई बोलाई छलफल गर्नुपर्ने हुन्छ । तर सुबोधलाई बाटो खुलोस् नखुलोस् कुनै मतलब हुँदैन, उनी सीडीओले बोलाएका बैठकमा जाँदैनन् ।
२०७० सालतिर छविराज पन्त भौतिक पूर्वाधार मन्त्री भएको बेला देवकोटाले मन्त्रीबाट मन्त्रालयमातहतका कर्मचारी सरुवाको जिम्मा एकमुष्ट लिएका थिए । त्यतिबेला उनले ठूलै स्केलमा दररेट उठाएको उनकै सहकर्मी साथीहरु भन्ने गर्छन् । देवकोटामाथि आफ्नै सहकर्मी कर्मचारीहरुलाई होच्याएर बोलेको पनि आरोप लाग्ने गरेको छ ।