काठमाडौं । अमेरिकाले एकसाथ ३७ नेपालीलाई डिपोर्ट गरेको छ । अवैध ढंगले अमेरिका पुगेका र त्यहाँको अध्यागमनको कानुन उल्लंघन गरेका ३७ जना नेपालीलाई अमेरिकाले निष्काशन गरेको हो।
चार्टर्ड विमानमार्फत उनीहरूलाई बिहीबार काठमाडौं ल्याएर छोड्ने अध्यागमन विभागले जनाएको छ ।
यसअघि २०८२ जेठ २५ गते अमेरिकाले डिपोर्ट गरी पठाएका ३७ जना नेपाली चार्टर्ड विमान मार्फत काठमाडौं आइपुगेका थिए ।
ट्रम्प सन् २०२५ जनवरी निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो ।
अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेकोजस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।
डोनाल्ड ट्रम्प अमेरिकाको दोस्रो पटक राष्ट्रपति भएयता हालसम्म २१५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् ।
निष्काशित हुनेहरूमा दुईजना बस्नेत,तीनजना भण्डारी,विश्वकर्मा,बोहरा, बुढाथोकी,छिनाल,डाँगी,कुँवर,खत्री र शाह थर भएका एकरएकजना छन्। यसैगरी दुईजना चौधरी,दुईजना कँडेल,दुईजना खड्का,छजना केसी र तीनजना ओलीसमेत निष्काशितको सूचीमा रहेका छन्।
यस्तै आचार्य, पुन, विके,गौतम, शेर्पा,सिंह,सुवेद,तामाङ र ठाडा थर भएका एक र एकजना पनि भोलि नेपाल आइपुग्नेछन्।