नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा जन्मेका रुद्रकली (७ वर्ष) र खगेन्द्र प्रसाद (६ वर्ष) नामका दुई हात्ती आगामी कात्तिकभित्र कतार पठाइने भएका छन् ।
कतारले दुई वर्षअघि कूटनीतिक रूपमा माग गरेका यी हात्ती दोहास्थित चिडियाखानामा राखिनेछन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हात्ती पठाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
भैरहवा विमानस्थलबाट चार्टर विमानमार्फत हात्ती पठाइने र सम्पूर्ण खर्च कतार सरकारले बेहोर्नेछ ।
उनीहरूसँग दुई जना माउते पनि कम्तीमा एक महिना कतारमा बसेर हात्तीको हेरचाह गर्ने तरिका सिकाइनेछ ।
यो पहिलो पटक प्रजनन् केन्द्रमा जन्मेका हात्ती नेपालले उपहारस्वरूप विदेशी देश पठाउन लागेको हो।