काठमाडौं । रुपन्देही–३ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. लेखजंग थापाले जनतालाई फेरि एकपटक आश गर्न आग्रह गरेका छन् ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू र आफ्नो पार्टीले जनतालाई निराश नपार्ने दृढता व्यक्त गरे ।
“आश गर्न छोडिसकेको मान्छेले एकचोटि आश गर्ने आँट गर्दिनुस्, हामी हजुरहरूलाई निराश पार्ने छैनौँ,” थापाले भने।
उनले यो चुनावलाई साधारण राजनीतिक प्रतिस्पर्धा मात्र नभई “एक क्रान्तिको सुरुवात” को रूपमा व्याख्या गर्दै नयाँ राजनीतिक संस्कारको बाटो खोल्ने दाबी गरे।
थापाले आफ्नो उम्मेदवारीलाई सफल बनाउन सहयोग गर्ने पार्टी अध्यक्ष रवि लामिछाने, कार्यवाहक सभापति डोलप्रसाद अर्याल, नेता स्वर्णिम वाग्ले, अन्य नेतागण, परिवार, सहयात्री उम्मेदवार र मतदाताप्रति आभार व्यक्त गरे ।