काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाली नागरिकलाई १ सयबाहेक अन्य दरका भारतीय नोट साथमा नराख्न, ओसारपसार नगर्न र कारोबार नगर्न निर्देशन दिएको छ । हाल नेपालमा एक सयभन्दा बढी दरका भारतीय मुद्रा प्रयोगमा प्रतिबन्ध छ।
केही नेपालीले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट साथमा राखेको वा ओसारपसार गरेको भेटिएपछि राष्ट्र बैंकले पुनः जानकारी दिँदै चेतावनी जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार, “२०७५ पुस २३ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनचल्तिमा रहेका भारतीय रुपैयाँ ५ सय र एक हजार दरका नोट नेपालमा कारोबार गर्न निषेध छ। साथै, दुई सय, पाँच सय र दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न पाइँदैन।”
यसैगरी, नेपाली नागरिकले भारतबाहेक अन्य मुलुकमा भारतीय रुपैयाँ लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन पनि रोक लगाइएको छ ।