काठमाडौं । गायिका एलिना चौहानमाथि भएको पीडालाई लिएर उनका दाजु प्रल्हाद चौहानले कडा अभिव्यक्ति दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले एलिनाको आवाज कुनै सस्तो कथा नभई “जीउँदो घाउको चिच्याहट” भएको उल्लेख गरेका छन् ।
“सुनिने शब्दभन्दा नसुनिएका चिच्याहटहरू धेरै क्रूर थिए। त्यो पीडा चलचित्रको संवाद होइन, त्यो त रातभर रोएको भित्ताभरको मौनता हो,” चौहानले लेखेका छन्।
उनको भनाइ अनुसार एलिनाले बोलेको कुरामा ढिलाइ नभई पीडा असह्य भएपछि बोलेको हो। “किन अहिलेरु” भन्ने प्रश्न उठाउने समाजप्रति आक्रोश पोख्दै उनले भने, “यो समाज अझै पनि पीडित होइन, पीडकलाई साथ दिन्छ।”
प्रल्हाद चौहानले एलिनाको आँशु हेरेर अब चुप बस्न नसक्ने स्पष्ट पारे । एलिनाका पूर्वपति विष्णु सापकोटालाई लक्षित गर्दै उनले लेखेका छन्, “आज ऊ हाम्रो कोही होइन – ऊ केवल एउटा अनुहार हो, जसले विश्वासमाथि बलात्कार गर्यो।”
उनले अब मौनता टुटेको र हरेक आँशु, हरेक पीडा न्याय माग्ने चेतावनी दिए। “सबै हिसाबकिताब बाँकी छ – अब हिसाब मागिनेछ,” चौहानले भनेका छन् ।
हिजो मात्रै एलिनाका पूर्वपति सापकोटाले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी दिएका थिए । त्यसको केही समयपछि एलिनाले पनि फेसबुकमा निलडामसहितको फोटो साझा गर्दै अब आफू चप नलाग्ने जवाफ फर्काएकी थियन् ।