काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको छ ।
जसको प्रभावले आज दिउँसो देशभर सामान्य बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखालेका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ। साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
देशका उच्चपहाडी र हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भेग र मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली हुने छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले आज बिहान ६:०० बजे जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
साथै देशका उच्चपहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ।
सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रेन बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी र तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई आग्रह गरेको छ।
ठूला र साना नदी, खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न सर्वसाधारण र सरोकार भएका सबै निकायलाई आग्रह गरिएको छ।