काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुखलाई एक महिना पनि नपुग्दै जिम्मेवारीबाट हटाएको छ ।
आज गृहमन्त्रीस्तरीय निर्णयबाट प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाको सरुवा भएको हो ।
उनलाई जेठ ७ गते पाँचथरको प्रमुख जिल्ला अधिकारीबाट सरुवा गरेर विमानस्थल अध्यागमनमा ल्याइएको थियो । उनी विमानस्थलमा जेठ ९ गते हाजिर भएका थिए ।
अख्तियारले तत्कालीन अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराईमाथि छानबिन गरिरहेको थाहा पाएपछि मन्त्रालयले उनलाई हटाएर कोइरालालाई जिम्मेवारी दिएको थियो ।
भोलिपल्ट कोइराला हाजिर हुन आउन नपाउँदै अख्तियारले विमानस्थलमा छापा मारेको थियो । सहसचिव भट्टराई पक्राउ परेका थिए ।
पछि हाजिर जमानतमा उनी छुटेका थिए । अहिले उनको ठाउँमा आएका कोइरालालाई समेत हटाएर खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई यो जिम्मेवारी दिइएको छ ।
कोइरालामाथि विमानस्थलबाट हुने मानव तस्करी रोक्न नसकेको आरोप लाग्दै आएको छ । त्यसैले उनलाई गृह मन्त्रालयमा तानिएको स्रोतको दावी छ ।