सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा सोमबार बिहान भएको भीषण सडक दुर्घटनामा नेपाली सेनाका दुई जवानसहित पाँच जना घाइते भएका छन्। मोटरसाइकल र पिकअप भ्यान एकआपसमा ठोक्किएपछि भएको आगलागीले दुर्घटनालाई झनै भयावह बनाएको थियो।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बिहान करिब ११ बजे ईश्वरपुर–११ स्थित रेल्वे ट्रयाक चोकमा प्र०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ८ च ६५ नम्बरको पिकअप भ्यान ठोक्किँदा दुवै सवारीमा आगो सल्किएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक, भगवती दल गण इटहरीमा कार्यरत २३ वर्षीय नेपाली सेनाका सिपाही चन्द्रदेव धामी गम्भीर घाइते भएका छन्। उनको शरीरको ८५ प्रतिशत भाग जलेको छ ।
सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार प्रारम्भिक उपचारपछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंस्थित उपचार केन्द्रमा पठाइएको छ ।
मोटरसाइकलमै सवार चितवनको रसौलीस्थित नं. २ विपद् व्यवस्थापन गणका २२ वर्षीय सैनिक प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी पनि घाइते भएका छन् । उनीहरूलाई हात र टाउकोमा चोट लागेको छ र अहिले लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको छ।
पिकअप चालक हरिवन नगरपालिका–३ का ४० वर्षीय रामएकबाल महतो र सवारीमा सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको हात, खुट्टा र टाउकोमा चोट लागेको छ।
आगलागीका कारण मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ भने पिकअप भ्यानको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।