काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मन्त्रीहरू लेनदेनमा मुछिएको विषय उठाउँदै सुशासन आयोगबारे प्रश्न गरेका हुन्।
उनले भने–‘कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग ? जनताले देशले खोजिरहेको छ। मन्त्रीहरू एकपछि अर्को लेनदेन कान्डमा मुछिएको तथ्य सार्वजनिक भइरहेको छ । नैतिकता छ भने मन्त्रीको राजीनामा आउने पर्ने, बर्खास्त हुनुपर्ने होकि होइन ?’
एमाले–कांग्रेस दुई दल राजावादीलाई तह लगायौँ भनेर भ्रष्टाचारमा लागेको उनको आरोप छ।
उनले भने–‘राजावादीलाई तह लगायौँ भनेको त छट्टुस्यालको कथा पो रहेछ। चिल आयो आयो भनेर तल चल्ला टिप्ने। जनताको ध्यान एक तिर लैजाने दुई पार्टी मिलेर लुट्ने ।’
यसबारे राप्रपाले सदन र सडकबाट प्रतिवाद गर्ने पनि उनको भनाइ छ।
त्यस्तै उनले सदनमा राप्रपा र रास्वपाले गरिरहेको विरोधलाई गलत व्याख्या गरिएप्रति आपत्ति जनाउँदै सभामुखको भूमिकामाथि पनि प्रश्न उठाए।
अध्यक्ष लिङ्देन संसद्का दुई महत्त्वपूर्ण दलले बहिष्कार गर्दा पनि सदन चलाउने शैली कस्तो हो भनेर प्रश्न गरे ।
उनले भने–‘सभामुखको ध्यानाकर्षण गर्न चाहन्छु, यो संसदीय इतिहासमा कालो समय हो । संसद्का दुई महत्त्वपूर्ण राजनीतिक पार्टीले कुरा उठाइराख्दा जबरजस्त संसद् चलाउने प्रयास भइराखेको छ ।’
यो सरकारको अकर्मण्यता मात्रै नभएको उनको आरोप छ । उनले भने–‘यो केवल सरकारको अकर्मण्यता मात्रै होइन, सभामुख महोदय तपाईंको आफ्नो कार्यकालको सबैभन्दा कालो समयको रूपमा पनि यो उल्लेख रहने छ । ’
सभामुखले सदनको अवरोध खुलाउन पहल लिनुपर्ने उनको आग्रह छ । ‘सभामुखले पहल गर्नुपर्यो, प्रयास गर्नुपर्यो । छलफल गर्नुपर्यो । प्रतिपक्ष दलहरूले उठाएको आवाजलाई सम्बोधन गराउने प्रयास गर्नुपर्यो’ सदनमा उनले भने ।